| आइतवार, कार्तिक २२, २०८३

डढेलो नियन्त्रणका लागि भीमसेन थापाको नविनतम प्रयास, पातपतिङ्गर संकलन गर्नेलाई प्रोत्साहन रकम

पालिकाभित्रका सामुदायिक वन क्षेत्रका पातपतिङ्गर संकलन गर्नेलाई प्रोत्साहन स्वरुप भीमसेन थापा गाउँपालिकाले नगद उपलब्ध गराउने भएको छ । डढेलो नियन्त्रणका लागि ‘पातपतिङ्गर संकलन’ कार्यक्रम लागू गरिएको पालिकाले जनाएको छ ।

प्रति केजी दुई रुपैयाका दरले नगद उपलब्ध गराइने पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । ‘व्यक्ति, टोल विकास संस्था, युवा क्लव, महिला समूह, सहकारी संस्था, निजी फर्म तथा कम्पनीहरु जो कोहीले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयहरुसँग समन्वय गरेर पातपतिङ्गर संकलन गर्न पाउछन,’ उनले भने, ‘डढेलो लगाउने कार्य निरुत्साहित गर्दै डढेलो नियन्त्रण गर्ने उद्देश्य सहित यो कार्यक्रम लागू गरेका हौ ।’

संकलित पातपतिङ्गर प्राङगारिक मल बनाउन प्रयोग हुने बताउँदै उनले त्यसको व्यवस्थापन तथा बिक्री वितरणको जिम्मा सम्बन्धित सामुदायिक वन तथा वडा कार्यालयहरुलाई दिइने जानकारी गराए । पालिकाबाट अनुगमन गरेपछि मात्र रकम उपलब्ध गराइने उनले बताए । ‘सामुदायिक वनले एउटा निश्चित ठाउँमा पातपतिङ्गर संकलन गर्न ठुलो खाडल बनाउँछ,’ उनले भने, ‘पालिकाले प्रत्यक्ष अनुगमन गरेर मात्र खाडलमा पातपतिङ्गर भर्ने काम हुन्छ ।’

संकलित पातपतिङ्गरबाट बन्ने प्राङ्गारिक मल बिक्री वितरणको जिम्मा सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिको हुने उनको भनाइ छ । कार्यक्रमले वन डढेलो नियन्त्रण गर्नुका साथै सामुदायिक वनको आयआर्जन बढाउन समेत सहयोग पु¥याउने अपेक्षा पालिकाको छ ।

कार्यक्रम अन्तरगत हाल पालिकाको अधिकांश सामुदायिक वनमा धमाधम पातपतिङ्गर संकलनको काम भइरहेको छ । कार्यक्रमले पालिकावासीको आर्यआर्जनमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्