
गोरखा बजारका मुख्य दुई ठाउँमा सार्वजनिक धारा
सर्वसाधारणलाई लक्षित गरी गोरखा बजारका प्रमुख दुई ठाउँमा सार्वजनिक धारा जडान गरिएको छ । पृथ्वी नारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हरमटारीचोक र पुरानो बसपार्क गरी दुई ठाउँमा धारा जडान भएको हो ।
धारासँगै एक÷एक हजार लिटर क्षमताको ट्यांकी पनि राखेको छ । आम नागरिकलाई सहज रुपमा खानेपानी उपलब्ध गराउने उद्देश्य रहेको संस्थाका व्यवस्थापक सुशील अर्यालले बताए । ‘अब गर्मी, सुख्खा याम सुरु भएको छ । यो अबस्थामा सर्वसाधारणलाई पिउनयोग्य गुणस्तरको पानी उपलब्ध गराउनका लागि धारा राखेका हौँ,’ उनले भने, ‘संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वसाधारणलाई पानीको सुविधा होओस् भनेर यो प्रयास गरेका हौँ ।’ गोरखा नगरपालिका मेयर र उपमेयरको उपस्थितिमा बिहिबार एक कार्यक्रमका बीच धाराको उद्घाटन गरिएको उनले जानकारी दिए ।
त्यो पानी पिउन योग्य छ त ? भन्ने दरौंंदीको प्रश्नमा उनले पानीको शुद्धिकरण मापन गरेर मात्र वितरण गरिएको बताए । ‘हाम्रो संस्थाको अध्यक्ष र कोषाध्यक्षले पानी शुद्धिकरण मापनको तालिम लिएर आउनुभएको छ । उहाँहरुले दैनिकजसो शुद्धिकरण मापन गर्नुहुन्छ र १५÷१५ दिनमा खानेपानी तथा गुणस्तर बिभाग पठाउनुहुन्छ,’ अर्यालले भने, ‘क्लोरिफिकेशन’ विधिबाट पानीको शुद्धिकरण समेत गरिएको हुन्छ । शुद्धतामा कुनै शंका गर्नुपर्दैन ।’




