
कोखेआहालेस्थित जुगेपानी पहिरोको सडक दबियो
गोरखा नगरपालिका–२ कोखेआहालेस्थित जुगेपानी खण्डको सडक केही भाग तल दबिएको छ । गोरखा घ्याम्पेशाल आरुघाट सडकखण्ड अन्तरगत पर्ने सो क्षेत्रमा सडकको केही भाग तल दबिएको वडाध्यक्ष रहमतुल्ला मियाले बताए । ‘फिल गरेको माटो भासिदै गएको हो या दबिएको हो थाहा भएन,’ वडाध्यक्ष मियाले भने, ‘तर बीच भागमा सडक तल दबिएको देखिन्छ ।’
पहिरोका कारण बर्षेनी यात्रामा कठिनाई हुने गरेपछि सो क्षेत्रमा यो बर्ष मात्र पहिरो नियन्त्रणको काम सम्पन्न भएको हो । सडक डिभिजन कार्यालय दमौलीले ३ करोड ४५ लाख खर्चेर पहिरो नियन्त्रण र सतह जल निकासी अन्तरगतको काम गरेको हो ।
सडकको अवस्थालाई मध्यनजर गर्दै सो क्षेत्रको सडक कालोपत्रे समेत गरिएको छैन ।
यो बर्ष ‘अब्जरभेसन फेज’ मै राखिएको छ । बर्षेनी दुख दिन थालेपछि पहिरो नियन्त्रणका लागि गत वर्षको जेठ १२ गते आइडी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौँता भएर काम अघि बढेको थियो । २०८१ साल बैशाख मसान्तमा काम सम्पन्न भएको हो । काम सम्पन्न भएको करिव ११ महिनापछि सडकको केही भाग तल दबिएको हो ।
सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर राजेन्द्र कार्कीले पनि केही भाग दविएको स्वीकार गरे । ‘त्यो भू–भाग त्यस्तै छ भनेर हामीले अघिल्लो साल पनि कालोपत्रेको ठेक्का लगाएनौ,’ उनले भने, ‘त्यसलाई अब्जरभेसन फेजमै राखेका छौ ।’
अवको बर्षा र त्यसपछिको सडकको अवस्था हेरेर सोही अनु्सार बाँकी काम अघि बढाइने उनले जानकारी दिए । उनका अनुसार सो क्षेत्रको बिषयमा कन्सल्ट्यान्टसँग पनि आवश्यक समन्वय भइरहेको छ । उक्त सडकखण्डलाई उत्तरी गोरखा लगायत जिल्लाका विभिन्न ठाउँहरूलाई सदरमुकामसम्म जोड्ने प्रमुख सडक मानिन्छ ।




