| मङ्लबार, कार्तिक २४, २०८३

स्वाँरा गाउँ १६ दिनदेखि अन्धकार

बारपाक सुलिकोट गाउँपालिका–३ स्वाँरामा विगत १६ दिनदेखि बिद्युत छैन । गाउँमा भएको लघु जलबिद्युतमा समस्या आएपछि करिव सात सय घुरधुरी अन्धकारमा बस्न बाध्य छन् । बिद्युतको केन्द्रिय प्रशारण लाइन नपुगेको सो क्षेत्रमा ७० किलोवाट क्षमताको स्तुल खोला लघु जलबिद्युतबाट उत्पादित बिजुली स्थानीयले उपभोग गर्छन् । प्राविधिक समस्या आएपछि बिद्युत सेवा अवरुद्ध बनेको हो ।

‘बिजुली उत्पादन गर्ने मेसिनको फित्ता चुडिएको छ,’ जलविद्युत व्यवस्थापन समितिका सचिव अमर बहादुर गुरुङले भने, ‘फित्ता स्विजरल्यान्डबाट मगाएका छौ तर, आउन केही समय लाग्छ भनेको छ ।’ बिजुली नहुदाँ निकै समस्या भएको स्थानीयले गुनासो गरेका छन् । उज्यालोका लागि मैनवत्ति र टुकीको सहारा लिनुपरेको वडाध्यक्ष बलबहादुर गुरुङले बताए । ‘हाम्रोतिर केन्द्रिय लाइन छैन, लघु जलविद्युत कै भर हो,’ उनले भने, ‘त्यो पनि नभएपछि पुरानै जमानामा फर्किएको आभास भएको छ ।’

वडा कार्यालयको सेवा पनि वत्तिका कारण प्रभावित बनेको उनले गुनासो गरे । मेसिनरी उपकरणहरु मात्र नभइ मोवाइल चार्ज गर्न समेत नपाएको उनले बताए । मोवाईल चार्ज गर्न अर्काे गाउँ जानुपर्ने बाध्यता भएको उनले जानकारी गराए । स्तुल खोला लघु जलविद्युतले साविकको स्वाँरा गाविसको ९ वटा वडामध्ये ६ वटा वडामा बिजुली प्रवाह गर्छ । बाँकी तीन वटा वडामा भने हुँडीखोला लघु जलविद्युतले बिजुली प्रवाह गर्दै आएको छ ।

गाउँमा केन्द्रीय प्रशारणको लाइन नहुँदा पनि समस्या भएको गुरुङको गुनासो छ । लघु जलबिद्युतको सामान बिग्रिएमा बिदेशबाट मगाउनुपर्ने भएकाले समय लाग्ने उनको भनाइ छ । उनका अनुसार अहिले गाउँमा केन्द्रिय प्रशारण लाइनको पोल राखेर तार टाग्ने काम सुरु भएको छ । ठेकेदारको लापरवाहीले काममा ढिलाइ भएको उनले बताए । ‘पहिलाको ठेकेदारले लापरवाही गर्दियो, तारहरु थुपारेर त्यसै छोडेर हिड्यो,’ उनले भने, ‘अहिले फेरि नयाँ ठेकेदार आएको छ, तार टाग्ने काम गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्