| मङ्लबार, कार्तिक २४, २०८३

फुटपाथ निर्माणको कामले तिव्रता पाउँदै

जिल्ला सदरमुकामस्थित गोरखा बसपार्क क्षेत्रमा फुटपाथ निर्माणको कामले तिव्रता पाएको छ । संरचनाहरु हटाउने कामसँगै हिम पाइप राख्नका लागि नाला खन्ने काम सुरु भएको गोरखा नगरपालिकाले जनाएको छ ।

सदरमुकामको खोलखोलेदेखि बसपार्कसम्म सडकको दुवैतर्फ फुटपाथ निर्माणको कामलाई बहुवर्षीय योजनाको रुपमा अघि सारेर काम सुरु भएको नगरपालिका इन्जिनियर प्रकाश ढकालले बताए । जसअन्तरगत यो वर्ष बसपार्कदेखि शक्तिचोकसम्मको ३०० मिटर सडकमा फुटपाथ निर्माणसहित सडक स्तरोन्नती गरिने उनले जानकारी दिए ।

‘यो योजनाका लागि गोरखा सडक योजनाले एक करोड ७१ लाख र गोरखा नगरपालिकाले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘रकमसँगै काम पनि बाँडफाँड गरिएको छ ।’ गोरखा सडक योजनासँग वराकल/एल.कन.जेभी कन्स्ट्रक्सन प्रालिको ठेक्का सम्झौता भएको छ । गोरखा नगरपालिकातर्फ भने विन्ध्यावासिनी विल्डर्स प्रालिको ठेक्का पारेको छ ।

गोरखा सडक कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले हाल धमाधम काम सुरु गरेको छ । संरचना हटाउने र हिम पाइप राख्ने काम सुरु भएको योजनाका इन्जिनियर हरि लामाले बताए । ‘केही दिन भयो काम सुरु भएको, हामीले हिम पाइप जडान, नाला निर्माण र सडक मर्मतसम्भारको काम मात्र गर्छौ’, उनले भने, ‘नगरपालिकाले भने दुवैतर्फ फुटपाथ निर्माण र आफ्नो ठेक्कातर्फ नाला निर्माण र हिम पाइप जडानको काम हेर्छ ।’

सम्झौता अनुसार हरमटारीदेखि बसपार्कसम्म १ किलोमिटर सडकखण्डमा ‘ओभरले’ कालोपत्रेको काम समेत हुने उनले बताएका छन् । ‘हरमटारीको शहिद गेटदेखि बसपार्कसम्म एक किलोमिटर खण्डमा एक तह बाक्लो ‘ओभरले’ प्रकृतिको कालोपत्रे पनि हुन्छ’, उनले भने । कालोपत्रेको काम पनि सम्झौता अन्तरगत नै गर्न लागिएको उनको भनाई छ । सेफ्टी ट्याङकी हटाउन ढिलो हुँदा काममा ढिलाई भएको इन्जिनियर लामाले गुनासो गरे ।

गोरखा नगरपालिकातर्फको काम पनि सुरु भईसकेको नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले दावी गरेका छन् । सडकको एकतर्फको नाला निर्माण र हिम पाइप जडानको जिम्मा नगरपालिकाले पाएको उनले बताए । ‘यो वहुवर्षीय आयोजना हो, यो वर्ष शक्तिचोकसम्म काम हुन्छ । आगामी वर्षहरुमा पनि यसरी नै खण्ड खण्डमा विभाजन गरेर फुटपाथ निर्माणको काम संचालन हुन्छ’, उनले भने ।

बसपार्क क्षेत्रमा सडक चौडा बढाउने, फुटपाथ स्तरोन्नति गर्ने र व्यवस्थित नाला निर्माण गर्न बसपार्क टोल बिकास संस्था, वडा कार्यालय र नगरपालिकाको समन्वयात्मक बैठकबाट सहमति भएर काम अघि बढेको हो । हाल बसपार्कदेखि शक्तिचोकसम्म फुटपाथ निर्माणका लागी करिब २० घरधुरीले सेफ्टि ट्यांकी लगायत अन्य संचरनाहरु हटाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्