| मङ्लबार, कार्तिक २४, २०८३

पत्रकार हत्या र संचार गृहमाथिको आक्रमणप्रति पत्रकार महासंघ गोरखाको ध्यानाकर्षण

गत शुक्रबार काठमाडौंमा भएको राजावादीहरुको प्रदर्शनको क्रममा पत्रकार सुरेश रजकको हत्या र विभिन्न सञ्चार माध्यममाथि भएको आक्रमणको विरोध गर्दै पत्रकार महासंघ गोरखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमवार सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै महासंघले घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ । पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरिएको छ ।

‘हाम्रो माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न सरकारसमक्ष आग्रह गरिन्छ । अन्यथा महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण गराइन्छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ ।
विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरुमा संलग्नहरुलाई समेत तत्काल कानुनी कारवाही गर्न र भविष्यमा संचारमाध्यम र संचारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउनु पर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

पत्रकार हत्या, कुटपिट र सञ्चारगृहमा भएको आगजनी तथा तोडफोडका घटनामा संलग्न जोकोहीलाई तत्काल पक्राउ गरी दोषीलाई कडाभन्दा कडा कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आमसञ्चार क्षेत्र लोकतन्त्रको अभिन्न अंग रहेको र पत्रकार र सञ्चारगृहका सुरक्षाका लागि खेल्नुपर्ने भूमिकाको लागि प्रशासन सदैव तत्पर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्