| मङ्लबार, कार्तिक २४, २०८३

बारपाक–लाप्राक सीमा विवाद सुल्झाउने सहमति

केही समयअघि बल्झिएको बारपाक र लाप्राकको सीमा विवाद सुल्झाउन दुई पक्षबीच सहमति भएको छ । प्रशासन कार्यालयको अगुवाइमा सोमवार भएको दुई पक्षबीचको छलफलले सीमा विवाद समाधान गरि पर्यटकीय पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतामा भएको छलफलले सीमा विवादको विषयमा धार्चे र बारपाक सुलिकोट गाउँपालिकाले कानुनी प्रक्रिया पूरा गरी सिमा निर्धारण वा एकिन गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय समेत भएको बताइएको छ । ‘चार घण्टा लामो छलफल भयो,’ सहायक प्रजिअ बरालले भने, ‘छलफलले तत्कालका लागि दुवै पक्ष मिलेर सीमा विवाद मिलाउने सहमति ग¥यो ।’

धार्चे गाउँपालिका–४ लाप्राकले आफ्नो क्षेत्र प्रवेश गर्ने स्थल गुप्सीभञ्ज्याङमा प्रवेशद्वार निर्माण प्रक्रिया सुरु गरेपछि विवाद बढेको थियो । लाप्राकको हिमाली आमा समूहले प्रवेशद्वार निर्माणका लागि तयार गरेको जग बारपाक सुलीकोट गाउँपालिका १ का बासिन्दाले पुरिदिएपछि सीमा विवाद चर्किएको हो ।

छलफलमा धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, बारापक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, बारपाक सुलिकोट–१ का वडाध्यक्ष धनबहादुर घले, वडा नम्वर २ का अध्यक्ष पुर्णबहादुर गुरुङ, धार्चे गाउँपालिका–४ का वडाअध्यक्ष किसान गुरुङ, लाप्राकको हिमाली आमा समूहकी अध्यक्ष स्मृति गुरुङ लगायत अन्य स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्