
नेपाली सेनाले तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा गर्ने
नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ गर्ने भएको छ । स्थानीय तहहरुको समन्वयमा यही चैत्र २७ गतेबाट पदयात्रा शुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ । गोरखाबाट शुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुदैँ जितगढी पुगेर समापन हुने गणपति अशोक कुमार क्षेत्रीले बताए ।
उनका अनुसार यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन (पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) र जितगढीको लडाईमा भाग लिएका गुरुबक्स पल्टनका टोली सहभागी हुनेछन् । उनीहरु आ–आफ्नो पल्टनको झण्डासहित यात्रामा निस्कने उनले जानकारी दिए ।
गोरखाको टोलि पालुङटारको सतिघाट पुगेर तनहूँलाई टर्च हस्तान्तरण गर्ने र तनहूँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए । ‘पाल्पाले रुपन्देहीलाई बुझाउँछ र रुपन्देहीको टोलि जितगढीमा पुगेर बिजय उत्सवमा सहभागी हुन्छ,’ गणपती क्षेत्रीले भने ।
उनका अनुसार नेपाल र तत्कालिन ब्रिटिस इस्ट इण्डिया कम्पनीबीच भएको लडाइमा बिजय प्राप्त गरेको दिन (बैशाख ७ गते)लाई बिजय उत्सवको रुपमा मनाउँदै आइएको छ । सोही उत्सवमा सहभागी हुने गरी पदयात्रा शुरु गर्न लागिएको बताइएको छ ।
नेपाल–अंग्रेज युद्धको क्रममा रुपन्देहीस्थित जितगढी किल्लामा भएको लडाईमा विजय प्राप्त गरेको दिनलाई बर्तमान समयमा समेत स्मरणीय बनाउन बुटवल उपमहानरपालिकाले हरेक वर्षको वैशाख ७ गते विजय उत्सव दिवसको रुपमा मनाउँदै आएको छ । सोही ऐतिहासिक कार्यलाई थप महत्वका साथ मनाउन गोरखा–जितगढी पदयात्रा संचालन गरिएको हो ।
यात्राले गढी, किल्ला, दरवार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरु पहिचान गरी, संरक्षण, सम्वद्र्धन र विकास गर्न सघाउ पुग्ने विश्वास लिइएको छ । सेनाले २०७९ सालबाट गोरखा दरबार–जितगढी एकीकरण मार्गमा पदयत्रा सुरु गरेको थियो । जितगढी किल्लामा विसं १८७२ वैशाख ७ गते नेपाल सँग हारेपछि अंग्रेज सेना फिर्ता भएको इतिहासका जानकार बताउँछन् । वैशाख ७ गते जितगढीमा विजय उत्सव दिवसको रुपमा मनाइदै आएको छ ।




