| मङ्लबार, कार्तिक २४, २०८३

विद्युत कार्यालयको लापरवाहीको पराकाष्ठ, कर्मचारीको मनोमानीले उपभोक्तालाई सास्ती

शनिवार दिनभर अवरुद्ध बनेको गोरखाको विद्युत राती साढे आठ बजेसम्म आएन । नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जारी गरेको सूचना अनुसार साँझ ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भनिएको थियो । अझ समय अगावै काम सकिएमा तत्काल विद्युत सप्लाई सुचारु हुने जनाएको कार्यालयले निर्धारित समयभन्दा करिव पाँच घण्टा ढिला गरी विद्युत प्रवाह ग¥यो ।

यसबीचमा उपभोक्ताका जिज्ञासाहरुलाई वेवास्ता गर्दै कार्यालय गैरजिम्मेवार बन्यो । कर्मचारीले कार्यालयले ल्याण्डलाइन फोन नलाग्ने बनाएर राखे । कार्यालय प्रमुख मोवाइल नै अफ गरेर बसे । कार्यालयको लापरवाहीको सिमा नाँघेको भन्दै अनि आलोचना सुरु भयो । सामाजिक सञ्जाल मार्फत कार्यालयको नकारात्मक टिकाटिप्पणी आउन थाले ।

कार्यालय गैरजिम्मेवार बनेको र लापरवाहीको पराकाष्ठ नाँघेको भन्दै केहीले आलोचना गरे । केहीले कुलमान घिसिङ हटाउनुको नजिता भन्दै व्यंग्य समेत गरेका छन् । एक होटल व्यवसायीले गोरखा भ्रमण बर्षलाई जोडेर मैनवत्ति बालेर पर्यटकलाई सेवा दिन परेको भन्दै व्यंग्यात्मक अभिव्यक्ति समेत पोष्ट्याउन भ्याए ।

निर्धारित समयमा बिद्युत दिन नसकेको कार्यालय उपभोक्ताप्रति जवाफदेही समेत हुन नसकेको केहीको आरोप छ । ‘बिना जानकारी बिद्युत जाने आउने समस्या त छदै छ,’ एक स्थानीयले भने, ‘सूचनामा तोकिएको समयमा पनि लाइन नदिने अनि किन नआएको भनेर सोध्न खोज्दा फोन नलाग्ने बनाएर भाग्न खोजेर हुन्छ ?’ कार्यालयले चरम लापरवाही गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

यसअघि पनि बिभिन्न समयमा कार्यालयको यस्तै लापरवाही दोहोरिरहेको उनले बताए । भने, ‘लाइन काट्न चाहि उनीहरुलाइ हतार हुन्छ, भनेको समयअगावै काटिदिन्छन्, तर दिनेबेला जहिले यस्तै लापरवाही,’ उनले भने । कार्यालयको लापरवाहीले उपभोक्ता मारमा परेको उनले गुनासो गरे । बिद्युत अनियमितता हुने क्रम जिल्लामा बढेको भन्दै पछिल्लो समय कार्यालयको आलोचना समेत हुन थालेको छ । कामप्रति कर्मचारी जिम्मेवार नबन्दा समस्या भएको उपभोक्ताहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्