| मङ्लबार, कार्तिक २४, २०८३

ताप्ले स्वास्थ्य चौकीमा एम्वुलेन्स पनि पुग्न मुश्किल

गोरखा नगरपालिका–१ स्थित ताप्ले स्वास्थ्य चौकी पुग्ने सडक स्तरोन्नती नहुदाँ सेवा लिन जाने बिरामीलाई समस्या हुने गरेको छ । वस्तीभन्दा टाढा रहेको उक्त स्वास्थ्य चौकी जाने कच्चि सडकमा सवारी आवागमन सहज छैन ।

बर्षाको समयमा एम्वुलेन्स समेत जान मुश्किल हुने स्थानीयले बताएका छन् । सो कुरा स्वास्थ्य चौकीका कर्मचारीले पनि स्वीकार गरेका छन् । ‘बर्षामा भलले बाटो खोलेर एम्वुलेन्स पनि आउन नसक्ने हुन्छ,’ हेल्थ असिस्टेन्ट नवराज रानाले भने, ‘सडक स्तरोन्नती भए सहज हुन्थ्यो ।’

सडक स्तरोन्नती गरिदिन स्थानीयले माग समेत गरेका छन् । ‘कच्चि सडक त्यसमाथि रातो माटो पानी परेपछि त चिप्लेर बाइक पनि जान मुश्किल पर्छ,’ एक स्थानीयले भने । सडक स्तरोन्नती भए सेवा लिन जान सहज हुने उनले बताए । उक्त स्वास्थ्य चौकीमा ताप्ले, बन्दिचौर, छापथोक लगायतका स्थानीय सेवा लिन आउँछन् । संस्थाको नयाँ भवन पनि बनेको छ । केही दिनमा सर्ने तयारी भइरहेको हेल्थ असिस्टेन्ट रानाले जानकारी दिए । ‘भवन हस्तान्तरण भइसक्यो, अव बिजुली जोड्ने काम भइरहेको छ, एक/दुई दिनमा सर्छाै होला,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्