| मङ्लबार, कार्तिक २४, २०८३

गोनपाका स्वास्थ्य चौकी : कतै नयाँ भवन, कतै जग्गा व्यवस्थापनमै समस्या

गोरखा नगरपालिकाभित्रका अधिकांश स्वास्थ्य चौकीले नयाँ भवन पाएको छ । कुल ६ वटा स्वास्थ्य चौकीमध्ये चार वटाको नयाँ भवन बनिसकेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

शाखाका अनुसार देउराली, तारानगर, नारेश्वर र ताप्ले स्वास्थ्य चौकीको भवन पुनर्निर्माण भएको हो । ‘देउराली, नारेश्वर र तारानगरले नयाँ भवनबाट सेवा सुरु गरिसकेको छ,’ जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले भने, ‘ताप्लेको पनि हस्तान्तरण भइसक्यो, सर्ने तयारी भइरहेको छ ।’

रानीस्वाँरा र फिनाम स्वास्थ्य चौकी भने पुरानै भवनमा संचालन भइरहेको उनले जानकारी दिए । उनका अनुसार बर्थिङ सेन्टरको पुरानै भवनबाट फिनाम स्वास्थ्य चौकीको सेवा प्रवाह भइरहेको छ । फिनामले पनि पुरानै स्वास्थ्यचौकीको भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

जग्गाको व्यवस्थापन हुन नसक्दा भवन बन्न नसकेको अर्यालले बताए । ‘मापदण्ड अनुसार कम्तिमा ५ रोपनी जग्गा संस्थाको नाममा वा भोकाधिकार भएको हुनुपर्छ, पर्याप्त जग्गा नभएर भवन माग गर्न पाएका छैनौ,’ उनले भने ।

गोरखा नगरपालिकाभित्र कुल १९ वटा स्वास्थ्य संस्था छन् । जसमध्ये ६ वटा स्वास्थ्य चौकी, ७ वटा आधारभूत स्वास्थ्य केन्द्र, ४ वटा शहरी स्वास्थ्य केन्द्र र १÷१ वटा सामुदायिक स्वास्थ्य केन्द्र र संस्थागत क्लिनिक छन् ।

प्रतिक्रिया दिनुहोस्