
फेरिएको नाग्चेत र पाङ्सिङको स्वरुप
‘चुमनुब्री’ गोरखाको हिमालपारि पर्ने गाउँपालिका हो । यसको वडा नं. ३ नाग्चेत गाउँ दुईबर्ष अघिसम्म ‘पाखा’ परेको थियो । मनास्लु पदमार्ग, गाउँपालिकाको केन्द्र फिलिम पुग्ने मूलबाटोबाट माथि, कसैको नजर नपर्ने ठाउँमा गाउँ थियो । मूलबाटो हिँड्ने सबैजना जगत, सल्लेरी, सिर्दिबास, घट्टेखोला हुँदै फिलिम तर्थे । गाउँबाहेक बाहिरका मान्छे कोही नपुग्ने हुँदा २३ घरधुरी रहेको नाग्चेत कोल्टे परेको थियो ।
यहाँका बासिन्दा पनि आफ्ना दैनन्दिन कामधन्दामै व्यस्त हुन्थे ।नाग्चेतकै नियति भोगिरहेको थियो, अर्को गाउँ पाङ्सिङले । यात्रुहरु सबै फिलिम, चिसापानी एक्लेभट्टी हुँदै चुमभ्याली, मनास्लु क्षेत्रतर्फ जाने हुँदा करिब १०० घरधुरी रहेको पाङसिङ पनि अपायकमा थियो । शिक्षक र काम विशेषले जाने प्रहरी तथा स्वास्थ्यकर्मीबाहेक त्यहाँ पनि स्थानीयबासीको मात्र आवतजावत हुन्थ्यो ।
तर अचेल यी दुवै गाउँको स्वरुप, संरचना, दैनिकी सबै परिवर्तन भएको छ । नाग्चेत र पाङसिङ अहिले बेनिघाट, आरुघाट, लार्के सडकले छोएको छ । गाउँपालिकाको केन्द्र फिलिम पुग्ने स्थानीय तथा विदेशी यात्रुहरु नाग्चेतसम्म सवारी साधनमा जान सक्छन् । यहाँ उत्रिएर लर्कन लाएर फिलिमतर्फ उकालो लाग्छन् । सामान ढुवानी गर्ने ठूला गाडीहरु पनि यहाँसम्म मात्र पुग्छ र सामान यहीँ अनलोड गर्दछ ।
गोरखा बजार, आरुघाट तथा आर्खेतबाट सामान बोकेर गएका ट्रकहरु नाग्चेतमै पुगेर सामान ओह्राल्छन् । ट्रकले ओह्रालेको सामान फेरि मान्छेले अथवा खच्चडले बोकेर बाँकी गन्तव्यसम्म पु¥याउँछन् । त्यसैले सामान अनलोड र लोड गर्नेको चहलपहल निकै बढेको देखिन्छ ।
अहिले नाग्चेत र पाङसिँङका सडक छेउमा चामल, नून, लगायतका खाद्य सामग्री तथा सिमेण्ट, रड लगायतका निर्माण सामग्रीको खात लाग्छ । बिहान झिस्मिसेदेखि साँझ अबेरसम्म यहाँ बजारबाट लगेको सामान अनलोड गर्ने र गन्तब्यसम्म पु¥याउनु पर्ने सामान खच्चडमा लोड गर्नेको भीडभाड लाग्छ । जीप, ट्रयाक्टर र साना ट्रकमा लगिएका सामान पाङसिङसम्म पनि पुग्न सक्छ, तर ठूला ट्रक भने नाग्चेतसम्म मात्र पुग्ने गरेका छन् ।
नाग्चेतसम्म सामान आइपुग्दा पनि धेरै सुविधा भएको छ । ‘पहिले कोल्टो परेको नाग्चेत र पाङसिङ अहिले त धेरै परिवर्तन भएको छ’, चुमनुब्री गाउँपालिकाकी पूर्व उपाध्यक्ष कुमारी गुरुङ भन्छिन्, ‘फिलिम आउने मान्छे पनि गाडीबाट नाग्चेत ओर्लिएर आउँछन् । छिटो हिड्नेहरु पाँच मिनेटमै फिलिम आइपुग्छन् । त्यहाँसम्म गाडीले बोक्ने भएपछि सामान पनि धेरै सस्तोमा आउने भयो । दुर्गम गाउँ हो, धेरै राम्रो भयो त के भनुँ, तैपनि बिगतको तुलनामा चाहिँ धेरै राम्रो भएको छ ।’
गाउँमा चहलपहल बढेपछि स्थानीयबासीले पनि आयआर्जनको काम पाएका उनले बताइन् । पहिले पिछडिएका नाग्चेत र पाङसिङ अहिले ‘बजार’ बनेको वडाध्यक्ष रामकुमार गुरुङ बताउँछन् । ‘होटल, टि सप, होलसेल पसलहरु खुलेका छन् । आउने जाने मान्छेको भीड लाग्छ । पहिले पिछडिएका ती गाउँ अहिले गुल्जार भएका छन् ।’




