| मङ्लबार, कार्तिक २४, २०८३

आठ महिनाको अवधिमा गोरखामा १३३ जनामा क्षयरोग पुष्टि

जिल्लामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १३३ जनामा क्षयरोग पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्कअनुसार साउन यता जिल्लाभर १३३ जनामा क्षयरोग पुष्टि भएको हो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५५ महिला र ७८ पुरुषमा रोगको सङ्क्रमण पुष्टि भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जसमध्य ६५ जनामा पिबिसी टिबी (फोक्सोमा किटाणु देखिने), ४१ जनामा पिसिडी अर्थात फोक्सोमा किटाणु नदेखिने र बाँकी ३७ जनामा भने फोक्सोबाहेकका अन्य अङ्गहरुमा क्षयरोगको सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

पिसिबी क्षयरोग बिभिन्न माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै रुपमा सर्न सक्ने जनस्वास्थ्य कार्यालय गोरखाका क्षयरोग फोकल पर्सन नारायणबाबु अर्यालले बताए । जिल्लामा क्षयरोगका बिरामीहरुको दर बढ्दो क्रममा रहेको उनले जानकारी दिए । गत आर्थिक वर्ष २०८०/८१ मा दुईसय ३२ जनामा क्षयरोग पुष्टि भएको उनले जनाए ।

यो वर्ष गत वर्षको तुलनामा यो वर्ष धेरै भन्दा धेरै क्षयरोगका बिरामीहरु पत्ता लगाई उपचारको दायरामा ल्याउने उनको भनाइ छ । ‘क्षयरोगका बिरामीहरु त धेरै नै छन् तर उपचारमा भने आएका छैनन् । गत आव पनि लक्ष्यको जम्मा ४३ प्रतिशत बिरामीहरु मात्र पुष्टि भएका हुन् । बाँकीको ५७ प्रतिशत त बाहिर आएकै छैनन्’, खड्काले भने । गतवर्ष क्षयरोग पुष्टि भएकाहरु मध्ये ९२ प्रतिशतको सफल उपचार भएको उनले बताएका छन् ।

कार्यालयले एक्सरेद्वारा छातीरोग सम्बन्धी खोजपड्ताल कार्यक्रम अन्तरगत केही स्थानीय तहहरुमा स्क्रिनिङ शिविर समेत संचालन गरेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नवराज खड्काले बताए । स्क्रिनिङ शिविरबाट ४४ जनामा क्षयरोगको संक्रमण पुष्टि भएको उनले जानकारी दिए । ‘बढि भन्दा बढी क्षयरोगका बिरामीहरुको पहिचान गरी उनीहरुको निशुल्क उपचार गर्ने लक्ष्यका साथ स्क्रिनिङ कार्यक्रमहरु पनि गर्दै आएका छौँ’, उनले भने, ‘क्षयरोगको समयमै उपचार नभए यसले अर्को ठूलो समस्या निम्त्याउन सक्छ ।’

नेपाल सरकारले सन् २०५० सम्ममा देशलाई ‘क्षयरोग मुक्त राष्ट्र’ घोषणा गर्ने राष्ट्रिय उद्देश्यसहित कार्यक्रमहरु संचालन भइरहेको उनले बताएका छन् । हाल जिल्लाको गोरखा र पालुङ्टार नगरपालिकामा क्षयरोग मुक्त पालिकाको कार्यक्रम समेत संचालन भइरहेको र बिस्तारै अन्य पालिकाहरुमा पनि उक्त कार्यक्रम लागु हुने उनको भनाइ छ ।

क्षयरोगको सङ्क्रमण पुष्टि भए लगातार ६ महिनासम्म औषधी सेवन गर्नुपर्ने गोरखा अस्पतालका चिकित्सक विजय शर्मा बताउँछन् । ‘कतिपयले सन्चो भयो भने बीचैमा औषधी खान छाड्नु हुन्छ, जुनकुरा निकै घातक हो’, उनले भने, ‘यसरी बीचैमा औषधी खान छोड्नाले बिरामीको बहुऔषधी प्रतिरोधात्मक क्षमता बढ्न जान्छ र औषधीले पनि काम गर्न नसक्ने अवस्था आउन सक्छ ।’ क्षयरोगका बिरामीले स्वास्थ्य संस्थाहरुबाट निशुल्क रुपमा औषधी प्राप्त गर्ने सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्