
फेरि बल्झियो बारपाक र लाप्राकको सीमा विवाद
लामो समयदेखि भुसको आगोझैँ सुसुप्त भइरहेको बारपाक र लाप्राक बीचको सीमा विवाद फेरि बल्झिएको छ । धार्चे ४ लाप्राकले आफ्नो क्षेत्र प्रवेश गर्ने स्थल गुप्सीभञ्ज्याङमा प्रवेशद्वार निर्माण प्रक्रिया सुरु गरेपछि विवाद बढेको हो ।
लाप्राकको हिमाली आमा समूहले प्रवेशद्वार निर्माणका लागि जग तयार गरेपछि बारपाक सुलीकोट गाउँपालिका १ का बासिन्दाले पुरिदिएका छन् ।
‘गुप्सीभञ्ज्याङबाट यताको पानीढलो लाप्राकीको, उताको पानीढलो बारपाकीको भनेर बूढापाकाले भन्दै आएका थिए । त्यसैले हिमाली आमा समूहले साँधमा लाप्राकीलाई पनि हुने, बारपाकीलाई पनि हुनेगरी गेट बनाउन लागेको थियो’, धार्चे ४ का वडाअध्यक्ष किसान गुरुङले भने, ‘तर बारपाकका मान्छेहरुले रातारात आएर डोजर लाएर खाल्डो पुरिदिए ।’ द्विपक्षीय सहमति जुटाएर काम गर्न खोज्दा पनि बारपाकी पक्षले अनिर्णयको बन्दी बनाएर असहज परिस्थिति सिर्जना गरिदएको उनको आरोप छ ।
सहमति जुटाउन आमा समूहले पटक पटक आग्रह गर्दा पनि आलटाल गरिरहेकाले समूहले जग खन्न सुरु गरेको उनको भनाइ छ । ‘यो आर्थिक बर्षभित्र गेट बनाउनका लागि पालिकाको सात लाखको बजेट थियो । ढिला गर्न पनि नमिल्ने अबस्था थियो’, अध्यक्ष गुरुङले भने, ‘गिटी, बालुवा, रड, सिमेण्ट खरिद भइसकेको छ, त्यसैले आमा समूहले बारम्बार छलफल गरी सहमति जुटाउन धेरै पहल ग¥यो । तर हाम्रो अनुरोधलाई बेवास्ता गरी टुंगोमा पुग्न आलटाल गरिरहेकाले महिला समूहले हतार गरी काम सुरु गरेको हो ।’ तर रातारात डोजर ल्याएर जग पुरेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
बारपाक सुलिकोट गाउँपालिका १ का वडाअध्यक्ष धनबहादुर घलेको मत भने फरक छ । सहमति जुटाएर मात्र काम अघि बढाउन आग्रह गर्दागर्दै जबर्जस्ती काम सुरु गरेकाले पुर्न बाध्य भएको उनको राय छ । ‘गेट बनाउँदा पर्यटक आकर्षित हुन्छन् । एउटा गेट चाहिन्छ भन्ने पक्षमा हामी पनि हौँ’, घलेले भने, ‘तर दुई पक्ष बीच सहमति जुटाएर मात्र गरौँ भन्दाभन्दै उहाँहरुले हतार गरेर काम सुरु गर्नुभयो । त्यसमा गाउँलेले चित्त बुझाउने ठाउँ नै थिएन । त्यसैले पुर्न बाध्य भयौँ ।’
भकारी चौताराभन्दा उतापट्टि लाप्राकतर्फ गेट बनाउन आग्रह गर्दागर्दै जबर्जस्ती सोभन्दा यता बारपाकतर्फ गेट बनाउन लागेकाले भत्काउन बाध्य भएको घलेले बताए । सहमति, समझदारी खोज्ने प्रयास गर्दागर्दै पनि सामाजिक सञ्जालमा बारपाकीलाई अनेकथरी गालीगलौज गर्ने, बद्नाम गर्ने काम भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।




