| मङ्लबार, कार्तिक २४, २०८३

चैतमा हिउँ परेर गुप्सीबस्ती सेताम्मे, स्थानीयबासी खुशी

हिमपात भएपछि धार्चे ४ गुप्सीबस्ती सेताम्मे भएको छ । ६२९ घर एकै ठाउँमा झुरुप्प भएको गुप्सीबस्ती हिमपात भएपछि मनमोहक देखिएको स्थानीय मार्सिङ गुरुङले जानकारी दिए ।

समुद्री सतहदेखि २७०० मिटर उचाइमा वुद्ध हिमालको काखैमा रहेको गुप्सीमा हरेक बर्ष हिउँ पर्दथ्यो । यसपटक भने यो पहिलो पटक परेको गुरुङको भनाइ छ ।

शनिबार साँझ सातबजेदेखि करिब एकघण्टासम्म हिउँ परेको अर्का स्थानीय दिलबहादुर गुरुङ बताउँछन् । ‘पहिले असिना पानी प¥यो । पछि हिउँ प¥यो’, उनी भन्छन्, ‘हिउँ त्यस्तै ४५ मिनेटदेखि एकघण्टासम्म प¥यो ।’ तीनदेखि चार इञ्चसम्म बाक्लो हिउँ परेको उनको भनाइ छ । हिउँ परेपछि स्थानीयबासी खुशी छन् ।

हिउँले ढाकिएको धार्चे ४ गुप्सीबस्ती ।

गोरखा बजारबाट ७५ किलोमिटर टाढा पर्ने यहाँ हिउँ परेपछि हिउँ खेल्न जानेहरुको भीड लाग्ने गर्दछ । सदरमुकामबाट करिब चार घण्टामा पुग्न सकिने हुँदा गोरखा बजार, तनहूँको आँबुखैरेनी, नारायणघाटदेखिका युवाहरु हिउँ खेल्न तथा गर्मी छल्न यहाँ गएर रमाउने गर्दछन् ।

आन्तरिक र वाह्य पर्यटकहरु आउन थालेपछि यहाँ होटलहरु पनि खुलेका छन् ।

२०७२ सालको भूकम्पले लाप्राकको पुरानो बस्ती पूर्ण रुपमा क्षतिग्रस्त भएपछि गैरआवासीय नेपाली संघ(एनआरएनए)ले त्यहाँका ५७६ घरधुरी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अरु ५३ गरी ६२९ घरधुरी गुप्सीपाखामा निर्माण गरेका हुन् । आंशिक घरमा बाहेक यहाँ नियमित बसोबास भने रहेको छैन ।

तस्वीरहरु : दिलबहादुर गुरुङ ।

प्रतिक्रिया दिनुहोस्