
गोरखामा ‘दोस्रो रैथाने खाना’ महोत्सव हुने
गोरखामा रैथाने खाना महोत्सव हुने भएको छ । गोरखा होटल संघको आयोजनामा ‘दोस्रो रैथाने खाना महोत्सव २०८१’ हुन लागेको हो । आउँदो चैत्र २६ गतेदेखि नयाँबर्षको बैशाख २ गतेसम्म महोत्सव सञ्चालन हुने पत्रकार समेलनमार्फत जानकारी दिएको हो । नेपाली नयाँ वर्षमा ‘गोरखा जाऔं’ भन्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको संघका महासचिव सुमन श्रेष्ठले बताए ।
‘हामीहरु अंग्रेजी नयाँ बर्ष मनाउन पोखरा, चितवन जान्छौं,’ उनले भने, ‘अब नेपाली नयाँ वर्षमा गोरखा जाऔं, भन्ने सन्देश दिनुपर्छ ।’ महोत्सवको मुख्य आकर्षण स्थानीय जाति विशेष रैथाने खानाको परिकारहरु रहने महासचिव श्रेष्ठले जानकारी दिए । यसको लागि नगरपालिकाभित्र बसोवास गर्ने जात–जातिहरुलाई प्राथामिकता दिइने बताएको छ ।
महोत्सवमा रैथाने खानाका परिकारहरुको बिक्री वितरण तथा प्रर्दशनीका लागि ४३ वटा स्टल समेत निःशुल्क व्यवस्था गरिएको उनले बताए । साथै रैथाने खाना खाने प्रतियोगिता पनि हुने बताएको छ ।
यस्तै महोत्सवलाई थप आकर्षक बनाउनका लागि नयाँ बर्षको पूर्व सन्ध्यामा ‘ब्याक टु नाइनटिज’ (मध्यान्न, लेकाली, डिमर्चा, देउराली, कन्दरा, भगाव्याड, ब्रोसिस) ब्याण्डहरुको प्रदर्शनी रहने आयोजकले जनाएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती, विभिन्न जातीय भेषभुषा प्रदर्शन, लोपोन्मुख विविध साँस्कृतिक कार्यक्रम हुने, औद्योगिक तथा कृषि पशुपंक्षी प्रर्दशनी कार्यक्रमहरु हुनेछ ।
औद्योगिक तथा कृषि पशुपंक्षी प्रर्दशनीका लागि जिल्लाका सबै स्थानीय तह तथा वडाहरुसँग समन्वय गरिने संघका अध्यक्ष केशव कुँवरले बताए । सोही अवधिमा जिल्लास्तरीय मा.वि÷उ.मा.वि वक्तृत्वकला प्रतियोगिता र शैक्षिक प्रदर्शनी गरिने उनले जानकारी दिए । सो कार्यक्रमका लागी तीन दिन कार्यक्रम स्थल नगरपालिकालाई हस्तान्तरण गरिने बताएको छ ।
आठ दिनसम्म चल्ने महोत्सव हरमटारीको खेलकुद मैदानमा हुने आयोजले बताएको छ । महोत्सवमा १४० वटा स्टल रहने छ । महोत्सव सम्पन्न गर्नका लागी करिब ३७ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ । महोत्सव अवधिभर करिब २५ हजार दर्शकले अवलोक गर्ने अनुमान छ । प्रवेश शुल्क विद्यार्थीका लागि रु. ५० र अरुका लागि एक सय रुपैयाँ तोकिएको छ ।




