
पूर्वराजा ज्ञानेन्द्रद्वारा गोरखकालीमा पूजाआजा
पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार गोरखास्थित गोरखकाली र गोरखनाथको पूजाआजा गरेका छन् । शनिबार बिहान १० बजे गोरखा आइपुगेका उनले राजदरबारका कुलदेवता भनेर चिनिने गोरखकाली र गोरखनाथको पूजाआजा गरेका हुन् ।

बिहान १० बजेदेखि १२ बजे दुईघण्टासम्म पूजाआजा गरी दिउसो १ बजे गोरखाबाट फर्किएका छन् ।
शुक्रबार साँझ चितवन, कुरिनटारको रिभरसाइड रिसोर्टमा बसेर शनिबार बिहान ९ बजे आँबुखैरेनी आइपुगेका उनलाई राजावादी व्यक्ति, संस्था तथा पार्टीहरुले स्वागत र मोटरसाइकल ¥याली गरी १० बजे गोरखा भित्र्याएका थिए ।
पूजाआजा सकेपछि दिउसो १ बजे उनले गोरखा गोरखा ठूलोआँगन र सङ्ग्रहालयमा स्थानीयबासीको भेटघाट तथा स्वागत ग्रहण गरेका थिए ।

शाह बा २१ च ७३१८ नंबरको गाडीमा पृथ्वीराजमार्ग हुँदै गोरखा आएका हुन् ।
शनिबार चैत्रकृष्ण अष्टमी तथा गोरखकाली पूजा पर्व रहेको थियो । सोही अवसर पारेर पूर्वराजा शनिबार जिल्ला आएका हुन् । उनी शनिबार अपरान्ह चितवन, कुरिनटारस्थित सोही रिसोर्टमा फर्किएका छन् । आइतबार बिहान गोरखास्थित अर्को प्रसिद्ध मनकामना मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
पूर्वराजाको भ्रमणको आन्तरिक व्यवस्थापन गर्न गोरखामा १५१ सदस्यीय नागरिक समाज गठन गरिएको थियो । राजावादीको सञ्जालबाट भगवानदास मल्लको नेतृत्वमा स्वागत समिति गठन गरिएको थियो ।




