
बसपार्क सडक स्तरउन्नतिको काम छिटो सुरु गर्न स्थानीयको माग
मेलिना बराम ।
गोरखा नगरपालिका वडा नं. ६ बसपार्कस्थित सडक स्तरउन्नतिको काम छिटो सुरु गर्न स्थानीयले माग गरेका छन् । लामो समयदेखि फुटपाथ अस्तब्यस्त हुँदा जनजीवन प्रभावित बनेको भन्दै स्थानीय यथासीघ्र स्तरोन्नतिको काम थाल्न आग्रह गरेका हुन् ।
स्थानीयबासीको घरअघिको सेफ्टिट्याङ्की हटाउन भन्दै गोरखा नगरपालिका र गोरखा सडक योजना कार्यालयले काम रोकेका थिए । अहिले सेफ्टिट्याङ्की हटाउने काम प्राय सम्पन्न भइसकेकाले यथासीघ्र सडक स्तरोन्नतिको काम सुरु गर्नुपर्ने बसपार्क टोल विकास संस्थाका अध्यक्ष काजी मियाँले बताए ।
लामो समयदेखि फुटपाथ अस्तब्यस्त हुँदा स्थानीयबासीको व्यापार, व्यवसाय चौपट भइरहेको स्थानीयबासीको गुनासो छ । ‘सेफ्टीट्याङ्की व्यवस्थापनको काम ९० प्रतिशत सम्पन्न भइसक्यो । १/२ घरको मात्र बाँकी होला । उनीहरुले पनि हटाउने काम गरिरहेका छन्,’ अध्यक्ष मियाँले भने, ‘बसपार्कदेखि काम सुरु गर्ने हो भने तलसम्म आइपुग्दा बाँकीले पनि सेफ्टीट्याङ्की व्यवस्थापन गरिसक्छन् ।’
आँगनमुनि रहेको सेफ्टीट्याङ्की हटाउने क्रममा सडक छेउछाउको नालीहरु पुरिएको छ । जसले गर्दा ठूलो पानी पर्दा सडकबाट पानी बग्ने समस्या भएको स्थानीयको भनाइ छ । ‘नाली डम्माडम्मी पुरिएको छ । जब ठूलो पानी पर्छ, तब सबै पानी सडकबाटै बग्ने खतरा देखिएको छ’, मियाँ भन्छन्, ‘त्यहीँ भएर जति सक्दो छिटो काम सुरु हुनु प¥यो भन्ने हामी स्थानीयको माग छ ।’
केही दिन लगातार घाम लागे पनि सडकमा धुलो उडेर स्थानीयलाई सकस हुने गरेको छ । सेफ्टीट्याङ्की व्यवस्थापन गर्दा निकालिएको ढुङ्गा माटो सडकको छेउमा नै अलपत्र अवस्थामा छ । सडकको छेउछाउमा राखिएको फुलदानी हटाएर खारिएका ठाउँहरु पनि बिग्रेभत्केको अबस्थामा छ ।
वडाध्यक्ष राजेन्द्र कुमार जोशीले सडक स्तरोन्नतिको काम छिटो सुरु हुने बताएका छन् । ‘कामदार अभावले सेफ्टीट्याङ्की हटाउने काममा केही समस्या पनि भयो, अहिले त करिब सबैले हटाई पनि सक्नु भयो,’ उनले भने, ‘मैले इञ्जिनियरहरुसँग कुरा गरिरहेको छु, काम केही दिनमा नै सुरु हुन्छ ।’
बसपार्क क्षेत्रमा सडक चौडा बढाउने, फुटपाथ स्तरोन्नति गर्ने र व्यवस्थित नाला निर्माणको काम गोरखा सडक योजना कार्यालय र नगरपालिका कार्यालयले संयुक्त रुपमा गर्न लागेका हुन् । बसपार्कदेखि शक्तिचोक खोल्सीसम्म करिब तीनसय मिटर सडकको दुबैतर्फ सडक ८/८ मिटर फराकिलो बनाउन लागिएको हो । ‘बसपार्क क्षेत्रलाई व्यवस्थित सहर बनाउनका लागि सडक फराकिलो बनाउन लागिएको हो’, वडाअध्यक्ष जोशी भन्छन्, ‘सडक राम्रो बनेपछि बसपार्क क्षेत्र सुन्दर हुन्छ । व्यस्त सडक, पर्यटकहरु आउदा पनि सहर जस्तो देखियोस् भन्ने हो ।’
सो योजनाका लागि गोरखा सडक योजनाको एक करोड ७१ लाख र गोरखा नगरपालिकाले २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । गोरखा सडक योजनातर्फ वार्ककेल लकन कन्स्ट्रक्सन प्रालिको ठेक्का रहेको छ । गोरखा नगरपालिकातर्फ विन्ध्यावासिनी विल्डर्स प्रालिको ठेक्का रहेको जनाएको छ । गोरखा सडकतर्फका इन्जिनियर हरिबहादुर लामाले निर्माण सामग्री पनि जुटाइरहेको र ठेकेदार पनि केही दिनमा आउने बताए ।




