
खोर्लाबेशीमा बेलिब्रिज शिलान्यास
३४१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न लागेको साहस उर्जाले खोर्लाबेशीमा बेलिब्रिज पुल निर्माण कार्य शुभारम्भ गरेको छ । धार्चे गाउँपालिका ३ खोर्लावेशीमा निर्माण गर्न लागिएको पुलको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले शिलान्यास गरेका हुन् ।
पुल शिलान्यास कार्यक्रममा बोल्दै साहस उर्जाका प्रवन्ध निर्देशक हिम पाठकले तीन महिनाभित्र पुल बनाइसक्ने जानकारी दिए । साथै पाँच करोड लागतमा पुल बनाउने पनि बताए । उनका अनुसार पुल तथा जलविद्युत आयोजना निर्माणको काम टाइम इनर्जीले गर्नेछ ।

साहस उर्जाले चुमनुब्री र धार्चे भएर बग्ने बूढीगण्डकीमा ३४१ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्न लागेको हो । पाँच बर्षभित्र विद्युत उत्पादन गर्ने पाठकले घोषणा गरेका छन् । ‘यो हाम्रो सामाजिक उत्तरदायित्वको बजेट अन्तर्गतको काम हो’, कार्यक्रममा बोल्दै उनले भने, ‘पुल निर्माण सम्पन्न भएलगत्तै हामी चुमनुब्री ३ को सल्लेरीमा आयोजनाको बाँध खन्न सुरु गर्नेछाँैँ ।’
खोर्लावेशीमा पुल बनेपछि नेपाली सेनाले निर्माण गरेको बेनिघाट, आरुघाट, लार्के सडकको माछाखोला सल्लेरी सडकखण्डमा हिउँद बर्खामा निर्बाध रुपमा गाडी चल्न सम्भव हुने अपेक्षा उनको छ । ‘आयोजनाको बाँध जगत र सल्लेरीको बीचमा रहनेछ’, उनले भने, ‘पावर हाउसचाहिँ तातोपानीको भत्किएको पुलनेर निर्माण हुनेछ । बाँधदेखि पावर हाउससम्मको दुरी ६.८ किलोमिटर रहनेछ । नहर सबै भूमिगत सुरुङभित्र निर्माण हुनेछ ।’ उत्पादिन विद्युत नुवाकोटको रातामाटे सब–स्टेशन लगेर जोड्ने उनले बताए ।

आयोजनाको कूल लागत ७० अर्बमध्य ७५ प्रतिशत वैँकले लगानी गर्ने पाठकले बताए । बाँकी २५ प्रतिशतको व्यवस्था गरिरहेको उनको भनाइ छ । जसमा स्थानीयबासीको सेयर र आइपिओ पनि खुल्ला गर्ने तयारी गरेको उनले बताए । ‘हामी छिट्टै कम्पनी खडा गरेर स्थानीयलाई सेयर आव्हान गर्नेछौँ’, उनले भने, ‘धेरैथोरै सेयर खरिद गरी लगानी गर्न स्थानीयबासीलाई अनुरोध गर्दछु ।’
पुलको लम्बाइ ३० मिटर र चौडाइ चार मिटर रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

अहिले आयोजना डिजाइनको अन्तिम चरणमा रहेको उनले बताए । कार्यालय स्थापना गर्न खोर्लावेशीमा नौ रोपनी जग्गा खरिद गरिसकेका छौँ’, उनले भने, ‘१७०० रोपनीको मुआव्जा दिनका लागि मुआव्जा निर्धारण करिब करिब टुंगिएको छ ।’
पुल शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले आयोजनामा स्थानीयबासीलाई अल्पकालीन तथा दीर्घकालीन रोजगारीको व्यवस्था गर्न आग्रह गरे । निर्माणको क्रममा क्षमता, दक्षता र सीप अनुसारको काम स्थानीयबासीले पाउनु पर्ने, आयोजना बनेपछि सञ्चालनका क्रममा रोजगारी दिन स्थानीयबासीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । साथै सामाजिक उत्तरदायित्व कोषअन्तर्गत निरन्तर विभिन्न विकास निर्माण तथा मर्मतसम्भारको काम गर्न कम्पनी प्रतिवद्ध रहनुपर्ने औँल्याए । आफ्नो ठाउँमा सञ्चालन भएको आयोजनामा स्थानीयबासीले धेरथोर सेयर लगानी गर्न पाउनु पर्ने पनि उनले बताए । ‘स्थानीय स्तरमा सञ्चालित आयोजनाका लागि स्थानीयबासीले लाभ पनि पाउनु पर्छ, सहयोग पनि गर्नुपर्छ’, उनले भने ।

सो बेलिब्रिज निर्माण भएपछि धार्चे गाउँपालिका तथा चुमनुब्री गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । मनास्लु क्षेत्र जाने हजारौं विदेशी पर्यटकले पनि सुविधा पाउनेछन् ।
तस्वीरहरु सौजन्य : राज गुरुङ,




