
पालुङ्टार ९ स्थित खारखोला पुल उद्घाटन, निर्माण व्यवसायी सम्मानित
ठेक्काको समय सीमा नसकिँदै पुल निर्माण सम्पन्न गरेका निर्माण व्यवसायी सम्मानित भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पालुङटार नगरपालिका–९ ढुंगेटारीस्थित खारखोला पुलका निर्माणकर्ता मिलन खड्कालाई सम्मान गरेका हुन् । मंगलबार आयोजित पुल उद्घाटन समारोहमा मुख्यमन्त्री पाण्डेले निर्माण व्यवसायी खड्कालाई सम्मान गरेका पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
राम्रो काम गर्नेको प्रशंसा गर्नुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले प्रशंसापत्र सहित खड्कालाई सम्मान गरेका पूर्वाधार कार्यालयका प्रमुख गणेश सुवेदीले जानकारी दिए ।
पुल उद्धघाटन समारोहलाई सम्बोधन गर्दै उनले समयभित्रै निर्माण पूरा भएका परियोजनामा प्रदेश सरकारले बजेट अभाव हुन नदिने बताएका छन् । ठूला विकास योजनामा निर्माण कम्पनी कस्तो छ, व्यवसायी कस्तो पर्छ र काम कसरी हुन्छ भन्ने विषयले ठूलो प्रभाव पार्ने मुख्यमन्त्री पाण्डेको भनाई छ ।
श्रीगणेश अमृत जेभी कम्पनीले ठेक्का सम्झौतामा उल्लेख भएको समय समाप्त हुन सात महिना बाँकी छँदै सो पुलको निर्माण कार्य सम्पन्न गरेको थियो । अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो ।
फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए। सो पुल निर्माणको काम गत वैशाख ५ गतेदेखि आरम्भ भएको उनले जानकारी दिए ।
पच्चीस मिटर लामो र ८.४ मिटर चौडाइ रहेको ढुंगेटारीस्थित खारखोला पुलको लागत दुई करोड ७५ लाख रहेको पूर्वार्धार कार्यालय प्रमुख सुवेदीको भनाइ छ । प्रदेश सरकारको सहयोगमा पुल निर्माण भएको हो ।




