| मङ्लबार, कार्तिक २४, २०८३

अनाथ बालबालिकालाई लक्षित गरी छात्रावास संचालन

पालिकाभित्रका अनाथ बालबालिकालाई लक्षित गरी बारपाक सुलिकोट गाउँपालिकाले निशुल्क आवासिय सुविधासहितको छात्रावास संचालन गरेको छ । वडा नम्वर ६ ताकुकोटमा संचालित मनासलु छात्रावासमा हाल ९ जना छात्र र १० जना छात्रा गरी कुल १९ जना बालबालिका बस्छन् ।

‘कक्षा २ देखि १० सम्म अध्ययनरत बालबालिकाहरु यहाँ छन्,’ छात्रावास वार्डेन सुर्यकुमार श्रेष्ठले भने, ‘उनीहरु सबै सुर्यज्योती माविमा पढछन् ।’२०८१ साल जेठ १ गतेबाट पालिकाले उक्त छात्रावास संचालन गरेको हो । यसअघि मनासलु आधारभूत बिद्यालय भएको भवनमा छात्रावास संचालन गरिएको छ । ‘बिद्यार्थी संख्या कम हुदैं गएपछि मनासलु आवि सुर्यज्योतीमा माविमा मर्ज भयो, मनासलु आविको भवन खाली भएपछि त्यहाँ छात्रावास संचालन गरिएको हो,’ श्रेष्ठले भने ।

उक्त भवनमा आवश्यक रंगरोगन गरी घेरावार लगाइएको छ । ६ कोठे उक्त भवनमा २५ जनासम्म बालबालिका राख्न सकिने बताइएको छ । उक्त छात्रावास संचालनका लागि पालिकाले यो बर्ष २० लाख रकम विनियोजन गरेको छ । आगामी बर्ष पालिकाभित्र रहेका अनाथ बालबालिकाहरु सबैलाई समेट्ने योजना रहेको पालिका अध्यक्ष बिष्णु भट्टले बताए । ‘पालिकाभर कुल ३७ वटा सामुदायिक बिद्यालय छन्,’ उनले भने, ‘त्यहाँ अध्ययनरत अनाथ बालबालिकाहरुको तथ्याङ्क निकालेर उनीहरुलाई छात्रावासमा समेट्छौ ।’

छात्रावासमा बस्नका लागि सम्बन्धित बिद्यालय र वडाको सिफारिसको आधारमा पालिकाले निर्णय गर्नुपर्ने भनिएको छ । उक्त छात्रावासमा हाल एक जना वार्डेन, एक जना सुरक्षा गार्ड र दुई जना खाना बनाउने व्यक्ति गरी चार जना कर्मचारी कार्यरत छन् । छात्रावासमा रहेका अधिकांश बालबालिका वडा नम्वर ३ र ४ का रहेको बताइएको छ । उक्त छात्रावासमा रहेका बालबालिकालाई बिभिन्न संघसंस्था समेत सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्