
होली पर्वलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्थामा कडाई
होली पर्वलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । जिल्लामा हुन सक्ने अपराधिक गतिविधीलाई मध्यनजर गर्दै बिशेष सुरक्षा रणनीति लागू गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘पिकेट र मोवाइल टोलीको नियमित गस्ती हुन्छ,’ प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘अघिपछिको तुलनामा ड्यूटीमा खटिने जनशक्ति पनि बढाइएको छ ।’ बिभिन्न ठाउँमा सादा पोशाकका प्रहरी समेत खटाइने उनले बताए । अपराधिक क्रियाकलाप हुन सक्ने सम्भावित क्षेत्रहरुमा बिशेष निगरानी बढाइएको उनले जानकारी दिए । जिल्लाभरका सम्बन्धित यूनिटहरुलाई निर्देशन दिइसकिएको बताउँदै उनले भने, ‘आवश्यक परेको ठाउँमा थप बलका लागि टोली ‘स्ट्याण्ड बाइ’ राखेका छौ ।’ सभ्य र मर्यादित तवरले होली पर्व मनाउन उनले आग्रह गरेका छन् ।
पर्वको नाममा मदिरा सेवन गरी उच्छृङखल गतिविधि गर्नेलाई कानूनी कारवाही गर्ने उनले चेतावनी दिए । असभ्य र अश्लिल गीत तथा ध्वनीहरु नबजाउन र साँझ अबेलासम्म होली नखेल्न उनले आग्रह गरे । ‘ध्वनी प्रदुषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको बाजा, माइक लगायतका साउण्ड सिस्टमको प्रयोग नगर्न पनि भनेका छौ,’ उनले भने ।
रेलिङ नभएका छत, भिडभाड हुने जोखिमपूर्ण स्थान र सडकमा होली नखेल्न प्रहरीले आग्रह गरेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने र गाँजा भाङ जस्ता नसालु पदार्थ सेवन गर्नेलाई कारवाही गरिने कार्यालयले जनाएको छ । कुनै पनि अपराधिक गतिविधी हुन लागेको थाहा पाएमा प्रहरीलाई खवर गर्न आग्रह गरिएको छ ।




