
विकासका योजनाप्रति मन्त्री देवकोटाको बिशेष चासो : स्थलगत अनुगमन गर्दै समस्या बुझ्दै
योजना अनुगमनको क्रममा आइतवार आफ्नै गृहनगर (पालुङटार नगरपालिका–३ राउतेपानी) पुगेका गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटालाई स्थानीय गौरादेवी देवकोटाले गुनासो गर्ने अवसर पाइन्, ‘घर जाने बाटो नभएर अरुको आँगनबाट हिड्नु परेको छ, बाटो बनाइदिनुप¥यो’, ठट्यौली पारामा थपिन्, ‘यो मन्त्री मेरो भाई हो, दाइको छोरा पर्छ ।’ मन्त्री मुसुक्क हाँसे, जवाफ फर्काएनन् । फर्कने क्रममा नजिकै गएर भने, ‘बाटोहरु बनिरहेका छन् पीर नलिनु ।’

अनुगनमकै क्रममा पालुङटार नगरपालिका–९ कुँडुलेफाँट पुगेका उनलाई स्थानीय किसानले खोलाबाट खेत बचाइदिन आग्रह गरे । खार खोलामा आएको बाढीले बाँध र कुलो दुवै भत्काएपछि बस्ती जोखिममा परेको उनीहरुको गुनासो थियो । ‘बिर्दी संरक्षण योजना भनेर बर्षेनी केही बजेट पर्ने गरेको थियो तर अहिले त्यो पनि कटौती भयो,’ स्थानीय कृष्णबहादुर अधिकारीले भने, ‘बर्खा लागे’सी खेतमा खोला पस्छ, यसलाई नियन्त्रण गरिदिनुप¥यो ।’

मन्त्री देवकोटाले खार खोला र चुक्ति खोलाको बिषयमा आफूले प्रदेश सभामा पटक पटक आवाज उठाएको बताए । गतबर्ष तटबन्धबारे कुनै नीति नबनेकाले समस्या भएको भन्दै उनले यो बर्ष खारखोला र चुक्ति खोलालाई बिशेष योजनाका रुपमा सिफारिस गरेर पठाइएको जानकारी गराए । ‘यही फाँटमा तपाईहरु बस्नुहुन्छ, अब फाँट नै नरहे तपाईहरु कहाँ बस्ने ? यो चिन्ता मलाई पनि छ,’ उनले भने ।
मन्त्री देवकोटा शनिवार र आइतबार दिनभरजसो आफ्नो निर्वाचन क्षेत्रको योजना अनुगमनमा व्यस्त भए । खानेपानी र सिंचाईका मात्र नभई पूर्वाधार विकास कार्यालय र सामाजिक विकास कार्यालय अन्तरगत कार्यान्वयन भइरहेका योजनाहरुको पनि स्थलगत निरीक्षण गरे । कार्यान्वयन चरणको अवस्था र समस्या बारे बुझे । अनुगमनमा उनीसँग खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय र सामाजिक विकास कार्यालयका प्रमुख एवं कर्मचारी तथा सम्बन्धित पालिकाका अध्यक्षसमेत थिए ।

अनुगमनको क्रममा स्थानीयले बजेट अभावका कारण कतिपय योजना अलपत्र परेको गुनासो गरे । पर्याप्त बजेट विनियोजन गरिदिनुपर्ने माग राखे । गोरखा नगरपालिका–१२ स्थित स्याउली बजार खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेको उपभोक्ता समिति अध्यक्ष लोकबहादुर थापाले मन्त्रीलाई जानकारी गराए । उक्त योजनाका लागि स्रोत सुनिश्चित भइसकेकाले निर्माण कार्य अघि बढाउन मन्त्री देवकोटाले निर्देशन दिए ।

लिफ्टिङ खानेपानी आयोजनाको हकमा उपभोक्ताको पनि दायित्व सिर्जना गरिने उनले बताए । भने, ‘योजना सम्पन्न नभएसम्म सरकारको जिम्मा हो, सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरण गरिसकेपछि संचालन तथा मर्मतको काम उपभोक्ता आफैले गर्नुपर्छ ।’ त्यसका लागि छुट्टै कोष बनाउन उनले उपभोक्ता समितिहरुलाई निर्देशन समेत दिए । विकास निर्माणका काममा राजनीतिक आग्रह–पूर्वाग्रह नराख्न समेत उनले आग्रह गरे ।
दुई दिनको जिल्लामा बसाईमा उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेका खानेपानी, सिंचाई, सडक, खेलमैदान लगायतका योजनाहरुको अनुगमन गरेका छन् । अनुगमनको क्रममा अधिकांश स्थानीयले परेका योजनाहरुमा पर्याप्त बजेट विनियोजन गरिदिन माग गरे । केही नयाँ योजनाका लागि पनि उनीहरुले आग्रह गरे । आफ्नै पलहमा जिल्लामा केही बजेटहरु थप भएको जिकिर गर्दै उनले थप पहल गरिरहेको बताए ।

केही समयअघि मात्र गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रदेशबाट विनियोजित योजनाहरुको कार्यान्वयनमा आइपर्नसक्ने समस्या तत्काल सम्बोधन एवं कार्य प्रगति र गुणस्तर अध्ययन गर्न सम्बन्धित निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यहरुको संयोजकत्वमा अनुगमन तथा मूल्याकंन समिति निर्माण गरेको छ ।
सोही अन्तरगत देवकोटाको अध्यक्षतामा निर्माण भएको समितिले गोरखा निर्वाचन क्षेत्र नम्वर २ प्रदेश क्षेत्र क का योजनाहरु अनुगमन गरिएको हो । देवकोटा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बाट गोरखा २ क प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।




