
शोध, अनुसन्धान गर्ने महिला शोधार्थीलाई अनुदान
जिल्लाको अजिरकोट गाउँपालिकाले पालिकाभित्रका महिला विद्यार्थी लक्षित शोध प्रवद्र्धन कार्य (थेसिस) अनुदान कार्यक्रम लागु गरेको छ । अजिरकोटमा विद्यमान समस्याका बारेमा शोधग्रन्थ तयार गर्ने महिला शोधार्थीलाई ४० हजार रुपैयाँ अनुदान दिने जनाइएको छ ।
पालिका स्थायी ठेगाना भएका र विभिन्न विश्वविद्यालय तथा अन्तरगतका कलेजहरुमा स्नातकोत्तर तथा विद्यावारिधि अध्ययनरत्त महिलाहरु उक्त कार्यक्रममा समावेश हुन पाउने पालिकाले जनाएको छ । ‘पालिकाभित्रको कुनैपनि विषयमा थेसिस गर्नेले यो अनुदान पाउँछ’, गाउँपालिकाकी महिला तथा बालबालिका विकास शाखाकी प्रमुख सन्जु लामिछानेले भनिन्, ‘अजिरकोटभित्रका समस्याहरुमा आधारित रहेर अध्ययन र अनुसन्धान गर्नका लागि यो कार्यक्रम लागु गरिएको हो ।’
कार्यक्रम अन्तरगत पालिकाको विषयमा थेसिस गर्ने महिला विद्यार्थीहरुलाई ४० हजार दिइने उनले बताइन् । उच्च अध्ययन गरिरहेका महिलाहरुको सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यक्रम लागु गरिएको उनले जानकारी दिइन् ।
उनी भन्छिन्, ‘निम्नबर्गका महिलाहरुका लागि धेरै कार्यक्रमहरु गरिरहेका छौँ ।
शिक्षित महिलाहरुका लागि पनि केही गर्नुपर्छ भनेर यो कार्यक्रम ल्याएका हौं ।’ शोध प्रवद्र्धन कार्य अनुदानलाई पालिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत बार्षिक नीति तथा कार्यक्रममा समावेश गरी अगाडि बढाइएको रोजगार संयोजक लामिछानेको भनाइ छ ।
अनुदान कार्यक्रममा समावेश हुनका लागि विद्यार्थीहरुले शोधकार्यको प्रस्तावना, अध्ययनरत्त कलेजको सिफारिस, नागरिकताको प्रतिलिपि र निवेदनसहित चैत पहिलो हप्ताभित्र पालिकामा सम्पर्क गर्नुपर्ने पालिकाले सुचित गरेको छ ।




