| मङ्लबार, कार्तिक २४, २०८३

विविध कार्यक्रम गरी मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । गोरखा नगरपालिकाको आयोजनामा वडा स्तरीय बक्तृत्वकला प्रतियोगिता भएको छ । ‘नेपालमा महिलाको अधिकार, उपलब्धी, कार्यान्वयनको अवस्था, चुनौती र भावी गन्तव्य’ विषयक प्रतियोगितामा गोरखा नगरपालिका–९ की प्रमिला थापा सुयँलले प्रथम स्थान हासिल गरेकी छन् ।

उनले नगद दश हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाकी सहायक प्रशासकीय अधिकृत शोभा दवाडीले बताइन् । यस्तै, प्रतियोगितामा गोनपा–८ की नर्मदा खनाल कट्टेल दोस्रो, गोनपा–५ की प्रतिभा राना पौडेल तेस्रो र गोनपा–१० की सुमति श्रेष्ठ र गोनपा–१ की जानुका केसी सान्त्वना भएका छन् ।

उनीहरुले क्रमश आठ हजार, छ हजार र चार/चार हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा नगरभित्रका दश वटा वडाबाट सहभागीता रहेको थियो ।गोरखा नगरपालिका, मनास्लु क्षेत्र संरक्षण आयोजना, एकिकरण नेपाल, स्वाँरा सघन गाउँ बिकास केन्द्र, गोरेटो गोरखा र रोटरी क्लव अफ गोरखाको संयुक्त साझेदारीमा कार्यक्रम भएको हो । नगरपालिकाको उपप्रमुख सबल नेतृत्व बिकास कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको हो ।

गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकरको अध्यक्षता एवं वन तथा वातावरण राज्यमन्त्री रुपा विकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेशकी निवर्तमान प्रदेश सभा सदस्य मनकुमारी गुरुङ, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना मगर, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बराल, जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठक, रिपुमर्दन गणका गणपती अशोककुमार क्षेत्री, गोनपाकी निवर्तमान नगर उपप्रमुख बिनाकुमारी श्रेष्ठ, वडाअध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतले सहभागिता रहेको थियो । जिल्लाका अन्य स्थानीय तहले पनि विविध कार्यक्रम गरी अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्