
गोरखा नगरपालिकामा निजी वन दर्ता हुन थाल्यो
गोरखा नगरपालिकामा निजी वन दर्ता हुन थालेको छ । नगरपालिकाले मंगलवारबाट दर्ता कार्य सुरु गरेको हो । सो दिन दुई वटा निजी वन दर्ता गरिएको प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए । गोरखा नगरपालिका ९ स्थित शान्त सिंह बस्नेत र डिलमान सिंह बस्नेतको नीजि वन दर्ता गरिएको उनले जानकारी दिए ।
यसअघि वन कार्यालयमा दर्ता गर्ने प्रावधान रहेपनि वन ऐन २०७६ ले वन कार्यालयको सिफारिसमा सम्बन्धित स्थानीय तहले निजी वन दर्ता गर्ने प्रावधान ल्यायो । त्यसयता जिल्लाका कुनै पनि स्थानीय तहमा निजी वन दर्ता हुन सकेको थिएन । त्यसयता पहिलो पटक गोनपाले उक्त कार्यको थालनी गरेको हो ।
सहिदलखन गाउँपालिका पनि नीजि वन दर्ता गर्ने अन्तिम चरणमा रहेको छ । ‘स्थानिय वन ऐन’ पारित गरेर निजी वनहरु दर्ता गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगरले बताए । ‘हाल दर्ताको प्रक्रियामै छौँ । फागुन महिनाबाट दर्ता सुरु गर्छाै,’ उनले भने ।
२०८० साल मंसीर ७ गते नेपाल सरकारले दर्ता भएका निजी वनमा लगाइएका वा हुर्काइएका साल प्रजातिका रुख कटान, उपभोग, ओसारपसार र बिक्री वितरण खुल्ला गरेको थियो । त्यसकै लागि स्थानीयले आफ्नो निजी वन दर्ताका लागि सम्बन्धित पालिकामा आवेदन दिएपनि दर्ता हुन सकेको थिएन ।
‘नीजि वन दर्ताको हकमा, वन कार्यालयले मुल्याङ्कन् गरी स्थानिय तहमा सिफारिस पठाउछ अनि स्थानिय तहले दर्ता गर्ने काम गर्छ’, जिल्ला वन अधिकृत मदन मोहन शाण्डिल्यले भने, ‘नीजि वन दर्तासँगै नियमन र व्यवस्थापनको जिम्मा पनि स्थानिय तहलाई नै दिइएको छ ।’




