| मङ्लबार, कार्तिक २४, २०८३

विविध कार्यक्रम गरी हिमचुली सहकारीले मनायो स्थापना दिवस

गोरखा नगरपालिका–७ नयाँबजारस्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाले ३२ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा आयोजित गोरखा नगरपालिका स्तरिय बक्तृत्वकला प्रतियोगितामा ओल्ड क्यापिटल माविकी सृष्टि गुरुङ प्रथम भएकी छन् ।

विन्ध्यवासिनी मावि नारेश्वरकी निरुशा थापा द्धितिय, लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजारकी अनुपा रोका तृतीय र राष्ट्रिय मावि घलाङकी रबिना कुमाल सान्त्वना भएकी छन् । उनीहरुले नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा गोरखा नगरपालिका भित्रका १२ विद्यालयहरुले सहभागिता रहेको संस्थाले जनाएको छ ।


स्थापना दिवसको अवसरमा संस्थाले सरकारी तथा निजी विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १२ सम्म उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरेको छ । संस्थाले असल बचतकर्ता, असल ऋणी, सवैभन्दा बढी मोवाईल एप्सबाट कारोवार गर्ने शेयर सदस्य, सामाजिक, शैक्षिक तथा राष्ट्रिय योगदान गर्ने ब्यक्तित्व तथा जेष्ठ सदस्यहरुलाई सम्मान समेत गरेको छ ।

यस्तै असहाय एवं विपन्न विद्यार्थीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको संस्थाका व्यवस्थापक प्रेम श्रेष्ठले बताए । स्थापना दिवसकै सन्दर्भमा महेन्द्र मावि कुन्दुर र तारा मावि छेपेटारको कक्षा ३ सम्मका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री समेत वितरणका गरिएको उनले जानकारी दिए । साथै कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई सहकारी शिक्षा र वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गरेको थियो ।

मनकामना बहिरा आवासीय मावि टक्सारमा कक्षा ३ सम्मका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण पनि भएको थियो । संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षता एवं गोनपा–७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका सचिव मेनबहादुर अधिकारी, गोरखा जिल्ला बचत संघका सदस्य ओमबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्