| मङ्लबार, कार्तिक २४, २०८३

ग्रामीण यातायातका लागि धनुबाँसेमा बसपार्क बन्ने

हरमटारीस्थित घ्याम्पेशाल बसपार्कको बिकल्पमा धनुबाँसे बसपार्क बन्ने भएको छ ।ग्रामीण क्षेत्रमा चल्ने यातायातका लागि गोरखा नगरपालिका ६ र ८ को साँधमा अवस्थित धनुबाँसेमा बसपार्क बनाउन लागिएको मेयर कृष्ण राना मगरले जानकारी दिए ।

धनुबाँसे बसपार्कका लागि चालु आर्थिक बर्ष ३० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । सो बजेटले यही आर्थिकबर्षभित्र जग्गा तयार गर्ने मेयर राना मगरले बताएका छन् । ‘उपभोक्ता समितिमार्फत काम गर्ने हुँदा रामबाबु अर्यालको अध्यक्षतामा समिति पनि गठन भइसकेको छ’, उनले भने, ‘उपभोक्ता समितिले चरण चरणमा छलफल गरेर जग्गाको व्यवस्था भइसकेको छ । अब निर्माणको चरणमा जान मात्र बाँकी छ ।’

धनुबाँसे बसपार्कका लागि करिब तीनरोपनी जग्गाको व्यवस्था गरिएको वडा नं. ८ का वडाअध्यक्ष ऋषिराम खत्रीले जानकारी दिए । ‘बसपार्क प्रयोजनका लागि जग्गा उपलब्ध गराउन त्यो जग्गाको संरक्षकसंग समझदारी भएको छ’, वडाअध्यक्ष खत्रीले भने, ‘वडा नं. ८ र ६ तर्फका स्थानीयबासीसंग पनि समझदारी बनेको छ । अब केही समयभित्रै निर्माणको प्रक्रिया सुरु हुन्छ ।’ हाल सञ्चालनमा रहेको घ्याम्पेशाल बसपार्क पनि व्यक्तिको जग्गामा रहेको उनले बताए ।

हाल सञ्चालनमा रहेको घ्याम्पेशाल बसपार्कको क्षेत्र साँगुरो रहेको र यातायातको चापले गर्दा सडक र बजार पनि अस्तब्यस्त भएकाले विकल्प खोजिएको मेयर कृष्ण रानाले जानकारी दिए । ‘धेरै सवारी साधन तर साँगुरो क्षेत्र भएकाले हरमटारीचोकदेखि अस्पताल गेटसम्मको सडकमा सवारी सँधै अस्तब्यस्त हुन्छ’, उनले भने, ‘यति ब्यस्त हुन्छ कि, गम्भीर बिरामी लिएर आएको एम्बुलेन्सले पनि त्यहाँ बाटो नपाउने अबस्था छ । त्यसैले बसपार्कलाई अस्पताल भन्दा अलिक उता बसपार्क बनाउन लागेका हौँ ।’

सो बसपार्कबाट बुंकोट, नाम्जुङ, घैरुङ, फुजेल, मनकामना, अश्राङ, बोर्लाङ, घ्याम्पेशाल, ताकुकोट, सौरपानी, आरुघाट, माछाखोलासम्म सवारी साधन आउजाउ गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्