| मङ्लबार, कार्तिक २४, २०८३

गोनपा र देवघाट गाउँपालिकाबीच न्यायिक समितिको असल अभ्यास साँटासाँट

गोरखा नगरपालिका र तनहुँको देवघाट गाउँपालिका बीचन्यायीक समितिको असल अभ्यास साँटासाट गरिएको छ । दुवै पालिकाले असल अभ्यास, चुनौती र मेलमिलाप केन्द्र तथा न्यायिक समितिमा हुने उजुरी फछ्र्यौट प्रक्रिया आदिका विषयमा अन्तरक्रिया, तथा अनुभव साँटासाट गरेका हुन् ।

देवघाट गाउँपालिका न्यायिक समितिले फागुन ८–१० गतेसम्म मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धी पुनर्ताजगी तालिमको आयोजना गरेको थियो । सोही तालिम अन्तरगत गोरखा नगरपालिकाको न्यायिक समितिको टोली देवघाट पुगेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले गोरखा नगरपालिका न्याय गर्नमा हरदम तत्पर रहेको बताइन् ।

न्याय दिनमा कोहीकसैलाई विभेद नगरिएको उनले बताइन् । राम शाहको भनाइलाई स्मरण गर्दै गोरखामा कुनै हालतमा पनि न्याय मर्न नदिने उनले प्रतिबद्धता जनाइन् । ‘गोरखा राम शाहको पालादेखि न्याय दिने क्षेत्रमा अघि रहेको जिल्ला हो, हामीले पनि समता पूर्वक न्याय दिँदै आएका छौं,’ उनले भनिन्, ‘कोही कसैलाई सामाजिक, आर्थिक राजनीतिक आधार विभेद गर्दैनौं, न्याय दिने कुरामा गोरखा पछि छैन, पर्दैन पनि !’

गोरखा नगरपालिकाको न्यायिक समितिको तर्फबाट सहायक प्रशासकीय अधिकृत शोभा प्रधान दवाडीले उजुरी दर्ताका प्रकार, फछ्र्यौटको अवस्था र प्रक्रिया आदिका विषयमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । साथै उनले समाधान गरेका मुद्धा र समाधान गर्दा आउने चुनौतीका विषयहरु पनि कार्यक्रममा राखेकी थिइन् ।

यसैगरी देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले गाउँपालिकाको न्यायिक समितिले गरेका कामहरुको बारेमा बताएका थिए । उनले सोही कार्यक्रममार्फत गोरखा र देवघाट धार्मिक हिसाबले देशकै महत्वपूर्ण पालिका भएकाले भगिनी सम्बन्धको लागि प्रस्ताव समेत राखेका थिए । कार्यक्रममा मेलमिलापकर्ताहरुले परिचयात्मक कार्यक्रमसंगै खुला छलफल साथै दुवै पालिकाका मेलमिलापकर्ताहरुले प्रतिनिधि मुलक रुपमा आआफ्नो धारणा राखेका थिए ।

गोरखा नगरपालिकाको गोरखा भ्रमण वर्ष चलिरहँदा स्टिकर, पुस्तक र ब्रोसर क्रमशः वडा नं १ का वडा अध्यक्ष हिक्मत कुंबर, २ का वडा अध्यक्ष रहमतुल्ला मियां र ३ का वडा अध्यक्ष चुलबहादुर कुंवरले हस्तान्तरण गर्नुका साथै उपप्रमुख थोकरले देवघाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई ब्याज लगाएर गोरखा भ्रमणको लागि निमन्त्रणा पनि गरिन् ।

देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर गुरुङले यो वर्ष गोरखाको पर्यटकीय तथा धार्मिक क्षेत्रहरु अवलोकन गर्न आउने समेत बताएका छन् । पहिलो चरणमा वडा नं १ देखि ७ सम्मका मेलमिलाप केन्द्रका पदाधिकारी, न्यायिक समितका पदाधिकारी सहित ४० जनाको टोली देवघाट पुगेका थिए ।

दोस्रो चरणमा भने वडा नं ८ देखि १४ सम्मका मेलमिलापकर्ता सहितको पदाधिकारीहरु कास्कीको माछापुच्छ्रे गाउँपालिकाका असल अभ्यास साँटासाट गर्न जाने तयारी रहेको न्यायिक समितिका सदस्य सावित्रा थापा पुलामीले जानकारी दिइन् । देवघाट गाउँपालिकामा भएको तालिमलाई संवाद सहजिकरण तथा मेलमिलाप केन्द्र चितवनले सहजिकरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्