| मङ्लबार, कार्तिक २४, २०८३

सिरानचोकका विद्यालयलाई भेन्डिङ र इनसिनेटर मेसिन वितरण

सिरानचोक गाउँपालिकाभित्रका माध्यमिक विद्यालयलाई लक्षित गरी स्यानेटरी प्याड भेन्डिङ मेसिन र इनसिनेटर मेसिन वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारी भएको बेला सहज हुने भन्दै पालिकाभित्रका नौ वटै माविलाई उक्त मेसिनहरु वितरण गरिएको हो ।

फाउण्डेशन नेपाल मेड नामक संस्थाको आर्थिक सहयोगमा रोटरी क्लब अफ गोरखाद्वारा मेसिन वितरण भएको हो । वुधवार पालिकामा आयोजित एक कार्यक्रमकाबीच रोटरी डिस्ट्रिक अफिसर पवनरमण खनालले पालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङलाई नौ÷नौ थान भेन्डिङ मेसिन र इनसिनेटर मेसिन हस्तान्तरण गरेका हुन् ।

‘भेन्डिङ मेसिनमा प्याड हुन्छ, त्यहाँ भएको बटम थिचेपछि प्याड बाहिर आउँछ,’ रोटरी क्लब अफ गोरखाका अध्यक्ष बिनोद बस्नेतले भने, ‘प्रयोग भइसकेको प्याडलाई इनसिनेटर मेसिनमा राखेर नष्ट गर्ने हो ।’ कार्यक्रमकै अवसरमा चेपाङ बालबालिका पढ्ने गण्डकी गाउँपालिकाको तोमनडाँडा माविलाई पनि एक/एक वटा भेन्डिङ मेसिन र इनसिनेटर मेसिन वितरण गरिएको उनले जानकारी दिए ।

कुल चार लाख ५० हजार रकम बराबरको मेसिनहरु विद्यालयलाई उपलब्ध गराइएको उनको भनाइ छ । कार्यक्रममा पालिका अध्यक्ष गुरुङ, क्लबका पूर्व अध्यक्ष भेषबहादुर खड्का लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्