| मङ्लबार, कार्तिक २४, २०८३

लुदीदामगाडे वनमा डँढेलो नियन्त्रणसम्बन्धी कृत्रिम अभ्यास

गोरखा नगरपालिका–८ स्थित लुदीदामगाडे सामुदायिक वनमा वन डँढेलो तथा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बल गोरखा गुल्मको संयुक्त आयोजनामा मंगलवार अभ्यास गरिएको हो ।

वन डढेलो व्यवस्थापन सचेतना सप्ताह अन्तरगत उक्त कार्यक्रम गरिएको डिभजन वन कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए । सामुदायिक वन उपभोक्ता समितिलाई प्रज्वलनशिल पदार्थ व्यवस्थापन सम्बन्धी स्थलगत अभ्यास समेत गरेर देखाइएको उनले जानकारी दिए । कार्यक्रममा वन डढेलो नियन्त्रण कसरी गर्ने भन्ने बारे कृत्रिम अभ्यास गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधि, सामुदायिक वनका उपभोक्ता लगायतको सहभागिता रहेको थियो । कार्यालयले जिल्लाका तीन वटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) लाई डढेलो नियन्त्रणका सामग्रीहरु उपलब्ध गराएको छ ।

सोमवार एक कार्यक्रमकाबीच जेट सुटर, फायर सुटर, सेफ्टि हेलमेट, चश्मा लगायतका सामग्री वितरण गरिएको कार्यालय प्रमुख शाण्डिल्यले बताए । करिव डेढ लाख रकम बराबरको सामग्री उपलब्ध गराइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्