
धार्चे पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत रकम वितरण
धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटको पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ । रेसे खोलामा १६ मेगावाटको माछीखोला जलबिद्युत आयोजना निर्माण कार्य थालेको वाटर इनर्जी डेभलपमेन्ट प्रालिले मृतकका परिवारलाई राहत रकम वितरण गरेको हो ।
आयोजना निर्माण स्थलमा घटना भएकाले प्रालिले राहत रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । गत पुस २५ गते गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा प्रालिका संचालकसहित अन्य सरोकारवालाहरुको बैठकमा समेत उक्त निर्णय भएको थियो । सोही निर्णय अनुसार आइतवार मृतकका आफन्तहरुलाई राहत रकम उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए ।
‘मृतकको हकमा तीन लाखका दरले क्षतिपूर्ती रकम उपलब्ध गराउने निर्णय भएको थियो,’ उनले भने, ‘सोही निर्णय अनुसार मृतकका परिवारलाई आइतवार रकम वितरण ग¥यौ ।’ दुई किस्तामा रकम उपलब्ध गराइने बताउँदै उनले आइतवार पहिलो किस्ता स्वरुप डेढ लाखका दरले रकम दिइएको उनले जानकारी दिए ।
गत साउन १३ गते गएको पहिरोमा परी धार्चे गाउँपालिकाका–५ का जितबहादुर गुरुङ, उनकी श्रीमती कान्छी गुरुङ, बुवा कान्छा सुलाल गुरुङ, सोही स्थानका रमेश गुरुङ र आरुघाट–८ का रमेश परियारको मृत्यु भएको थियो । उनीहरुका परिवारलाई आइतवार पालिकामा राहत रकम वितरण गरिएको हो । प्रालिका कर्मचारी समेत भएकाले रमेश गुरुङको हकमा भने दश लाख रकम उपलब्ध गराउने प्रालिका संचालक पुष्पराज आचार्यले बताए ।
पहिरोका घाइते दिलिप गुरुङलाई उपचार खर्च वापत ६ लाख रकम उपलब्ध गराइने उनले जानकारी दिए । दुई किस्तामा रकम उपलब्ध गराइने बताउँदै उनले आइतवार पहिलो किस्ता वापतको तीन लाख रकम उनकी श्रीमतीलाई हस्तान्तरण गरिएको जानकारी गराए ।




