| मङ्लबार, कार्तिक २४, २०८३

तारानगर स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा शुभारम्भ

गोरखा नगरपालिका–१२ एघारकिलोस्थित तारानगर स्वास्थ्य चौकीमा चिकित्सकीय सेवा शुभारम्भ भएको छ । आधारभूत स्वास्थ्य सेवाका लागि सोमवारबाट चिकित्सकीय सेवा सुरु गरिएको हो । सेवाको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए ।

सो स्वास्थ्यचौकीबाट अबदेखि मेडिकल अफिसर(डाक्टर)ले सेवा दिनेछन् । डाक्टरले सेवा दिने भएपछि बिरामी चेकजाँचका साथै फलोअपका लागि अन्यत्र जानु नपर्ने गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए । उक्त स्वास्थ्य चौकीबाट नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने ९८ प्रकारका औषधी वितरण हुने उनले जानकारी दिए । ‘यसअघि यहाँबाट ती औषधीहरु वितरण गर्न पाइदैनथ्यो,’ उनले भने, ‘चिकित्सकीय सेवा सुरु भएपछि वितरण गर्न पाइन्छ ।’

उनका अनुसार आधारभूत स्वास्थ्य चौकीलाई मेडिकल अफिसरबिना नेपाल सरकारले दिने ९८ प्रकारको औषधी चलाउने अनुमति हुदैन । मेडिकल अफिसर भएपछि ती बाहेक थप अन्य औषधीहरु पनि चलाउने अनुमति हुने उनले जानकारी दिए ।
उक्त स्वास्थ्यचौकीबाट आगामि दिनमा स्वास्थ्य बिमा, भिडियो एक्स–रे, इसिजी, नसर्ने रोगको स्क्रिनिङ लगायतका सेवा थप गर्ने तयारी रहेको उनले बताए । महिनाको एक दिन विशेषज्ञका रुपमा डा. गुणराज लोहनीले सेवा दिने बताइएको छ ।

सोमबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रको बिकासमा गण्डकी प्रदेशले ठुलै फड्को मारेको बताए । डायलासिस सेवा लिनका लागी पालो कुर्नु पर्ने बाध्यता हटेको उनले जानकारी दिए ।

क्यान्सर लगायत ठुला रोग लागेका बिरामीहरुलाई प्रति व्यक्ति एक लाख रकम सहयोग गर्दै आएको उनले बताए । ‘कम्तिमा पनि कुल बजेटको १० प्रतिशत स्वास्थ्यको क्षेत्रमा खर्च गर्नु पर्छ भन्ने तर्कमा सरकार प्रयत्नशील छ, सचेत पनि छ,’ उनले भने, ‘सरकारको तर्फबाट मैले दुई वटा बजेट बनाए तर, अधिकांश ७० प्रतिशत भन्दा बढी मान्छेहरु बाटो चाहियो भनेर आउँछन्, स्वास्थ्यमा यसरी सुधार गर्दिनुस्, स्वास्थ्य चौकीमा गुणस्तर बढाई दिनुस् भनेर जनताले भनेको कमै सुन्निछ ।’

जनता आफै पनि स्वास्थ्य क्षेत्रको विस्तारका लागी जागरुप हुनु पर्ने उनले धारणा राखे । पालुङटार नगरपालिकामा रहेको आँपपिपल अस्पताल (हालै ५० शैयामा स्तरोन्नती भएको) मा आवश्यक पर्ने स्रोत साधान प्रदेश सरकारले उपलब्ध गराउने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारीहरुलाई सम्मानित भएका छन् । वडा नं. १२ का अध्यक्ष दिलबहादुर थापाको अध्यक्षता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएकोे कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, नगर प्रमुख कृष्ण राना, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, गोरखा नगरपालिकाका निवर्तमान मेयर राजनराज पन्त लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्