| आइतवार, कार्तिक २२, २०८३

अजिरकोट सहकारीका अध्यक्ष र वडाध्यक्षविरुद्ध किर्ते जालसाजी मुद्धा

मेलिना बराम ।
अजिरकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा अजीरकोट ३ का वडाध्यक्षसहित तीन जनाविरुद्ध किर्ते जालसाजी आरोपमा मुद्धा दर्ता भएको छ । अजिरकोट बहुउद्देश्यीय सहकारी संस्थाकी कोषाध्यक्ष अञ्जना थापाले वडाअध्यक्ष बाबुराम अधिकारीसहित सहकारीका अध्यक्ष रामशरण अधिकारी र सचिव एकबहादुर राना मगरविरुद्ध गोरखा जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी हुन् ।

भच्चेकमा सञ्चालित अजीरकोट कोसेलीघर तथा कृषि उपज संकलन केन्द्रका लागि अजिरकोट बहुउद्देश्यीय सहकारी संस्थाबाट ९ लाख ७५ हजार रकम निकासा गर्ने क्रममा आफ्नो किर्ते सहि गरिएको भन्दै कोषाध्यक्ष थापाले मुद्दा दर्ता गरेकी अदालतले जनाएको छ । वडाअध्यक्ष अधिकारी सो सहकारीको निवर्तमान अध्यक्ष हुन् । २०७९ सालको निर्वाचनमा वडाध्यक्ष पदमा विजयी बनेपछि उनले सहकारी छोडेका थिए ।

त्यसपछि रामशरण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको थियो । नयाँ नेतृत्व बनेकोबारे आफुलाई केही जानकारी नभएको कोषाध्यक्ष अन्जना थापाले बताइन् । कोसेली घरको व्यवस्थापनका लागि भन्दै संस्थाले एक जनालाई मासिक २५ हजार तबल सुविधा दिने गरी व्यवस्थापक समेत राखेको उनले बताइन् । तर, व्यवस्थापक राख्ने क्रमममा पनि उनको किर्ते सहि गरेर माइनुट गरिएको बताइन् । त्यसबारे पनि आफुले पछि मात्र थाहा पाएको थापाको भनाइ छ ।

‘पूर्वअध्यक्ष बाबुराम सर र सचिव एकबहादुरले बिमल दवाडीलाई छात्रवृत्ति दिन्छु भनी डकुमेन्ट मगाएर त्यहीँ डकुमेन्ट प्रयोग गरी उनलाई कोसेली घरको व्यवस्थापक राखेका रहेछन् । त्यस निर्णयमा पनि मेरो र अन्य पदाधिकारीको किर्ते सही गरेका रहेछन्,’ उनले भनिन्, ‘व्यवस्थापक दवाडीको नाममा असार मसान्तदेखि २५ हजार तलब खाएको भरपाई पनि बनाएर राखेका रहेछन् । यतिसम्म कि जसलाई व्यवस्थापक बनाएको छ उसलाई समेत आफू ब्यबस्थापक बनेको थाहा रहेनछ ।’ साथै अर्को एकजना कर्मचारी पनि राखिएको उनले जानकारी दिइन् ।

कोसेली घरको व्यवस्थापक भनिएका बिमल दवाडीले पनि आफु व्यवस्थापक भएको कुनै जानकारी नभएको बताए । ‘दुई वर्षअघि छात्रावृत्तिको लागि भनेर मसंग डकुमेन्ट मागेका थिए । फेरि गत जेठमा पनि मागे । मैले सबै कागजपत्र मम्मीको हातमा पठाइदिएँ,’ उनले भने, ‘मम्मीले वडाध्यक्षज्युलाई दिनु भएको रहेछ । त्यसपछि असार २४ मा मेरो खातामा स्कलरसिपको रकम भनेर आयो । अरु के के गरे मलाई केही थाहा छैन ।’

आफुलाई व्यवस्थापक बनाएको विषयमा तिहारमा घर जाँदा मात्र जानकारी पाएको उनले बताए । ‘मलाई व्यवस्थापक बनेको रहेछु भन्ने कुरा तिहारमा घर जाँदा थाहा पाएँ,’ उनले भने, ‘व्यवस्थापकबाट हटाउन माग गरेर मैले निवेदन पनि दिएको थिएँ । तर मेरो डकुमेन्टको दुरुपयोग भएको रहेछ ।’ उनी हाल चितवन बसेर अध्ययन गर्छन् ।

आफूलाई थाहापत्तो नदिई विभिन्न निर्णयमा किर्ते सही गरिएको कोषाध्यष थापाको गुनासो छ । ‘अर्को एकजना नानीलाई पनि कर्मचारी भनेर राखेका रहिछन् । म त त्यो सँस्थाको कोषाध्यक्ष हो नि । तर मलाई त्यसबारे केही जानकारी छैन,’ थापा भन्छिन्, ‘कसलाई अध्यक्ष बनायो, समितिमा कोको छ भन्नी पनि जानकारी छैन, कारोबार कति भयो, सामान के आयो, बिल भरपाई के कति बनाउनु भयो नि थाहा छैन । अब त अत्ति नै भयो भनेर मुद्दा दिएको हुँ ।’

गाउँपालिकाबाट कोसेली घर सञ्चालनका लागि आएको रकम संस्थाले तुरुन्तै निकाल्न नमिल्ने भनेर केही समय होल्डमा राखेको थियो । लामो समयसम्म त्यसबारे केही जानकारी नआएपछि उनी रकमबारे बुझन भच्चेकमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा पुगेकी थिइन् । त्यहाँ पुगेपछि मात्र रकम निकासा भई सकेको जानकारी पाएको उनी बताउँछिन् । थापाका अनुसार किर्ते सहिसहित माइनुट गरेर गत कार्तिक १४ गते ९ लाख ७५ हजार रकम संस्थाको नाममा निकासा गरिएको थियो ।

‘कोषाध्यक्ष भएको नाताले संस्थाको चेक म सँग थियो, तर उहाँहरुले चेक हरायो भनेर नयाँ चेक बनाएर चेकमा मेरो किर्ते सहि गरेर कार्तिकको १४ गते ९ लाख ७५ हजार रकम निकासा गर्नु भएछ ।’ उनले भनिन् । आफ्नो किर्ते सही गरी दुरुपयोग गरेको बारे बुझ्न अध्यक्ष रामशरण अधिकारीलाई फोन गर्दा उल्टै गाली खाएको उनी बताउँछिन् । ‘मैले रामशरण सरलाई पैसा निकाल्नु भएछ है भनेर सोध्दा, ९ लाख ७५ हजारको भागेदारी म हो भन्दै उहाँले मलाई गाली गलौजसहित लाञ्छना लाग्ने शब्द प्रयोग गर्नुभयो,’ उनी भन्छिन्, ‘हामीले कार्यक्रम गर्छाैं । त्यो पैसाको भागेदारी म हो, सकेको गर, मलाई लगेर मुद्धा हाल, जे सक्छ गर भनेर भन्नुभयो ।’

यस बिषयमा अध्यक्ष रामशरण अधिकारीसंग सम्पर्क गर्दा उनले कुनै प्रतिक्रिया दिन चाहेनन् । २०७६ भाद्र मा स्थापना भएको सो संस्थामा करिब १३० जना सेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्