
केबलकारमा यात्रु फँसेमा उद्धार गर्ने अभ्यास गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरीले केवलकारमा यात्रु फँसेमा गरिने उद्धार कार्यको अभ्यास गरेको छ । चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयले मंगलबार मनकामना केवलकारमा सो अभ्यास गरेको हो । तालिम शिक्षालयको आयोजना तथा मनकामना दर्शन प्रालिको सहकार्यमा यात्रुको उद्धार सम्बन्धी नमुना अभ्यास गरिएको केवलकारका स्टेशन म्यानेर उज्जल शेरचनले जानकारी दिए ।
तालिममा सशस्त्र प्रहरीका ३८ जना सहभागी थिए । उनीहरुले विविध कारणले केबलकारमा यात्रु फँसेमा कसरी उद्धार गर्न सकिन्छ भन्ने नमुना प्रर्दशन गरेको नेपाल सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले जनाएको छ । कुनै बेला अचानक केबलकारमा प्राविधिक समस्याका कारण यात्रुहरु बीचैमा अड्किएको खण्डमा उद्धार तत्काल गर्नका लागि नमुना अभ्यास गरिएको शेरचनले जानकारी दिए ।
‘चितवनस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन टोलीले विभिन्न प्रकारका विपद्मा परेकाहरुको उद्धारका लागि अभ्यासहरु गराइरहेका हुन्छन् । त्यमध्य आजका अभ्यास पनि एक हो’, शेरचनले भने, ‘सो अभ्यासको लागि शिक्षालयले हाम्रो यस मनकामना केबलकारमा यात्रु उद्धारको तालिम गरेको हो ।’ देशभरका विभिन्न केवलकारमा यात्रु अड्किन सक्ने र त्यतिबेला तालिमप्राप्त टोलीबाट उद्धार हुने उनले बताए । यो तालिम यसअघि पनि बर्षेनी हुँदै आएको छ ।




