
तेस्रो लिगलिग पालुङटार महोत्सव सुरु
पालुङटारमा बिहिदेखि तेस्रो लिगलिग पालुङटार महोत्सव सुरु भएको छ । फागुन चार गतेसम्म सञ्चालन हुने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।
लिगलिग पालुङटार उद्योग वाणिज्य संघको आयोजनामा ‘ऐतिहासिक लिगलिग पालुङटारको पहिचान, कृषि पर्यटन उद्योग तथा व्यापर प्रवद्र्धन मूल अभियान’ भन्ने मुल नारासहित मेला सुरु भएको हो । महोत्सबको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी कृषि उपजहरु प्रदर्शनी बिक्री गर्नेतर्फ मेलाहरु बढी केन्द्रित हुनु पर्ने बताए ।
‘मेला महोत्सबले ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई केही चलायमान गराउन मदत त पुग्छ’ उनले भने, ‘तर, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने गरी स्थानीय उत्पादित कृषि उपजहरु प्रदर्शनी बिक्री गर्नेतर्फ मेलाहरु बढी केन्द्रित हुनु पर्छ ।’ बाहिरको सामान आयात गरेर यहाँको पैसा बाहिर पठाउनु भन्दा पनि यहाँको समान बिक्री गरेर बाहिरको पैसा भित्र्याउने वातावरण सिर्जना गर्नु पर्नेमा उनले जोड दिए ।
‘मेला महोत्सवमा राखिने बालउद्यानहरुले पैसा बाहिर लैजान्छन् । बाहिरबाट आउने कलाकारहरुले पनि यहाँको पैसा बाहिर लैजान्छन् । त्यसैले स्थानीय उत्पादन र स्थानीय कलाकारहरुलाई प्रोत्साहन गरौं,’ उनले भने, ‘मेला महोत्सव गर्दा यहाँको पैसाबाहिर पठाउने होइन कि बाहिरको पैसा यहाँ भित्र्याउनु पर्छ ।’ घरेलु तथा साना उद्योगहरु प्रवद्र्धन र प्रोत्सहान गर्ने खालका कार्यक्रमहरु प्रदेश सरकारले ल्याएको उनले अवगत गराए ।
कृषि ज्ञान केन्द्र, भेटेरिनरी मार्फत किसानहरुलाई, लघु उद्यममार्फत पर्यटनहरुका लागि ल्याउने कार्यक्रममा सामूहिक वा व्यक्तिगत रुपमा पनि सहभागी हुन पनि उनले आह्वान गरेका छन् । व्यवसायिक उत्पादन गर्नेहरुलाई प्रदेश सरकारले अनुदानको व्यवस्था गरेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए । पालुङ्टार पर्यटनको सम्भावना बोकेको नगरपालिका भएको उनको भनाई छ ।
लिगलिगकोट ऐतिहासिक ठाउँ भएकाले यसको संरक्षण र विकासका लागी पनि प्रदेश सरकारले खुल्ला संग्रहालय बनाउनेदेखि त्यहाँको पर्यटक आर्कषित गर्ने खालका पूर्वधार निमार्णमा सहयोग गर्दै आएको छ । पालुङटार पशु पालन, कृषि, घरेलु तथा लघु उद्यम पनि पनि उतिकै सम्भावना भएको नगर भएको उनले बताए ।
कृषि र हस्तकलाका सामानहरुको प्रदर्शनी र बिक्री तथा सीप र कलाको प्रवद्र्धन/प्रोत्साहन गर्ने उद्देश्यका साथ महोत्सव गरिएको लिगलिग पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष मानबहादुर आलेले बताए । साथै आन्तरिक तथा वाह्य पर्यटकहरु पालुङटार भित्र्याई नगरपालिकालाई नेपालभित्र र बाहिर पर्यटकीय, धार्मिक रुपमा चिनाउने उनले जानकारी दिए । महोत्सवमा स्थानीय कला र संस्कृतिको संरक्षण र प्रबद्र्धनमा पनि जोड दिने बताएको छ ।
महोतसबमा स्थानिय कृषि उत्पादन तथा मायाको चिनो, डोको, नाम्लो, मान्द्रोलायतका हस्तकलाहरुको प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ । कृषितर्फ उत्कृष्ट प्रदर्शन गर्नेएलाई पुरस्कारको समेत व्यवस्था रहेको अध्यक्ष आलले बताए । करिब २५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको मेलामा करिब ४० लाखको करोबार हुने जनाएको छ ।
यसबाट भएको नाफाले उवासंघ पालुङटारको भवन निर्माण गरिने उनले बताए । मेलामा अवधिमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुबाट विविध मनोरञ्जनका कार्यक्रम रहने जनाएको छ । साथै खुल्ला नृत्य प्रतियोगिता, रत्यौली गीत तथा नृत्य प्रतियोगिता, गृहिणी नृत्य प्रतियोगिता तथा झाँकी प्रर्दशनी रहने आयोजकले बताएको छ ।
उत्कृष्ट झाँकी प्रर्दशन गर्नेलाई पनि पुरस्कृत गरिने बताएको छ । सो मेलामा प्रवेश शुल्कमा रुपमा विद्यार्थीका लागि रु ७० र अरु दर्शकका लागि रु १०० तोकिएको छ । अपङ्गता व्यक्ति तथा जेष्ठ नागरिकलाई भने टिकट शुल्क निःशुल्क गरिने जनाएको छ




