| मङ्लबार, कार्तिक २४, २०८३

कर्खा गायक लालबहादुर गन्धर्वको निधन


लोकप्रिय कर्खा गायक लालबहादुर गन्धर्वको निधन भएको छ । भीमसेनथापा गाउँपालिका १ घ्याम्पेशाल निवासी उनको ८० बर्षको उमेरमा बिहिबार निधन भएको स्थानीय भीसेनकाजी बानियाँले जानकारी दिए ।

क्यान्सरबाट ग्रस्त उनको दिउसो तीन बजे आफ्नै निवासमा निधन भएको उनले बताए ।
नौ बर्षकै कलिलो उमेरदेखि सारंगी बजाउने पुख्यौली पेशा अपनाउँदै आएका उनले जीवनको अन्तिम क्षणसम्म पनि सारंगी बजाउँदै आएका थिए ।

२० बर्षको कलिलो उमेरमा उनी भूमि सुधारको कर्खा गएर तत्कालीन राजा महेन्द्रको रोजाइमा परेका थिए । २०२२ सालमा ‘खरबारीको छेउ’ बोलको गीत रेकर्ड गराई २०२७ सालसम्म रेडियो नेपालमा जागिरेका रुपमा सेवा गरेका थिए । उनले पृथ्वीनारायण शाहको नेपाल एकीकरणसम्बन्धी कर्खा, ९० सालको भूकम्पको कर्खा, जंगबहादुर राणाको र चन्द्र शम्सेरको बेलायत भ्रमणको सवाई गाएर नेपाली लोकगीत संगीत क्षेत्रलाई योगदान दिएका छन् ।

त्यस्तै डाँफे र मुरलीको कर्खा, तेञ्जिङ शेर्पाको कर्खा, राष्ट्रिय झण्डाको सवाई, कुमालेको, अल्छीको कर्खा, बेहुली माग्ने गीत, गोरखनाथको मंगल, विश्वयुद्धको सवाई आदि गाएर नेपाली लोकगीतको भण्डार भरेका थिए ।

लोकगीत, संगीतका क्षेत्रमा लाग्दा राजा महेन्द्रदेखि धर्मराज थापा, माधवप्रसाद घिमिरे र पछिल्लो छिमलका अमृत गुरुङसम्म उनको संगत भएको थियो ।

पारिबारिक समस्याका कारण उनले छँदाखाँदाको रेडियो नेपाल र प्रज्ञा प्रतिष्ठानको छाडेर गोरखाको घ्याम्पेसालस्थित घरमा आई नौ भाई छोरा र १ छोरीलाई लालनपालन गर्न थाले । साँझ बिहान सारंगी बजाउँदै घ्याम्पेसाल बजार र आसपासका गाउँ बस्तीमा चाहारेर पुख्यौली पेशालाई निरन्तरता दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्