
वन्यजन्तुबाट पशुधन क्षति हुनेमा प्रदेशकै शीर्ष स्थानमा गोरखा, पीडितहरुले दुईवर्षपछि पाए राहत
प्रतिक्षा आले मगर ।
वन्यजन्तुबाट घरपालुवा पशुधनमा हुने क्षतिबापत पाउने राहत रकम झन्डै दुई बर्षपछि वितरण भएको छ । केही दिनअघि मात्र राहत रकम वितरण गरेको डिभिजन वन कार्यालय, गोरखाले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ भित्र वन्यजन्तुले घरपालुवा पशुधनमा पु¥याएको क्षतिबापत जिल्लाभर ३२ लाख १५ रकम राहत स्वरुप वितरण गरिएको डिभिजन वन कार्यालय, गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।
आव २०८१/८२ को असोजसम्म परेका निवेदनहरुका आधारमा राहत रकम वितरण गरिएको र त्यसपछिको क्षतिको राहत रकम आउँदो वर्ष वितरण गरिने उनले जनाए । ‘राहतबापत सबैभन्दा धेरै रकम गोरखाले पाएको देखियो । यसबाट गण्डकी प्रदेशमा पशुधन क्षति हुनेमा सबैभन्दा अग्रस्थानमा गोरखा रहेछ भन्ने स्पष्ट भयो’, उनले भने, ‘तर, जंगली जनावरबाट हालसम्म मानवीय क्षति भने भएको छैन ।’ जिल्लाभर करिब २४५ जना किसानलाई पशुधन क्षति बापतको राहत रकम वितरण गरिएको उनले जनाए ।
उनी भन्छन्, ‘दुईवर्ष अघि मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)मार्फत राहत वितरण हुदै आएकोमा सो कामको जिम्मा यस आर्थिक बर्षदेखि डिभिजन वन कार्यालयलाई दिइएको तर बजेट भने आएको थिएन ।’ यसअघि पीडितको निवेदन कार्यालयले छानविन गरी एमक्यापमा सिफारिस गरेर पठाउने र एमक्यापले त्यही आधारमा रकम वितरण गर्ने गरेको उनले जानकारी दिए । ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’ जारी भएपछि संरक्षण क्षेत्र बाहेकका क्षेत्रको राहत रकम वितरण गर्ने जिम्मा डिभिजन वन कार्यालयलाई दिइएको उनको भनाइ छ ।
कार्यालयको विवरण अनुसार सबैभन्दा धेरै गोरखा नगरपालिकामा पशुधन क्षतिको राहत वितरण भएको छ । गोनपामा आव २०८०/८१ मा परेका ६८ वटा निवेदन बापत ७ लाख १७ हजार र आव ०८१/ ०८२ को असोजसम्ममा परेका आठ निवेदन बापत ७४ हजार गरी जम्मा ७ लाख ९१ हजार रकम वितरण भएका छन् । ८९ बाख्रा, बोका, खसी, ५ भैंसी, गोरु, गाई र २ वटा सुँगुर क्षति बापत उक्त रकम वितरण गरिएको उल्लेख छ ।
यस्तै, भिमसेनथापा गाउँपालिकामा आव २०८०/ ८१ मा परेको २३ निवेदन बापत २ लाख ७८ हजार पाँचसय र आव २०८१/८२ मा परेको एउटा निवेदन बापत ३० हजार रुपैँया गरी कुल ३ लाख ८ हजार पाँचसय रुपैँया वितरण भएको छ । ३० बाख्रा/बोका/खसी र ६ भौसी/गोरु/गाई बापत उक्त रकम वितरण गरिएको हो ।
आरुघाट गाउँपालिकामा दुईवर्षको अवधीमा परेका आठवटा निवेदनका आधारमा ४५ हजर, गण्डकी गाउँपालिकामा परेका चार निवेदन बापत ६५ हजार र धार्चे गाउँपालिकामा परेका दुई निवेदनका आधारमा ५८ हजार रकम वितरण गरिएको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
पालुङटार नगरपालिकामा आव २०८०/८१ मा परेका ३८ निवेदन अन्तरगत चार लाख ८२ हजार र आव २०८१÷०८२ मा परेका आठ निवेदन अन्तरगत ९९ हजार गरी जम्मा पाँच लाख ८१ हजार पाँचसय रुपैयाँ राहत वितरण भएको छ । ६२ बाख्रा, बोका, खसी र २ भैँसी, गोरु, गाईबापत उक्त रकम वितरण गरिएको उल्लेख छ ।
बारपाक सुलिकोट गाउँपालिकामा ६० बाख्रा/बोका/खसी, ९ भौसी/गोरु/गाई र २ वटा सुँगुर क्षति बापत आव २०८०/८१ मा परेका ३२ निवेदनका आधारमा पाँच लाख १८ हजार पाँचसय र आव २०८१/०८२ मा परेका ६ निवेदनका आधारमा ९८ हजार पाँचसय गरी जम्मा ६ लाख १७ हजार रुपैँया वितरण भएको छ ।
अजिरकोटमा २६ बाख्रा, बोका, खसी र १ भौसी, गोरु, गाई क्षति बापत आव २०८०/८१ मा परेका ११ वटा निवेदन बापत दुई लाख १ हजार र आव २०८१/८२ मा परेको एउटा निवेदनको आधारमा १८ हजार पाँचसय गरी जम्मा २ लाख १० हजार पाँचसय रुपैँया वितरण भएको बताइएको छ ।
यसैगरी सहिदलखन गाउँपालिकामा ३३ वटा बाख्रा, बोका, खसी र १ भौसी, गोरु, गाई क्षति बापत आव २०८०/८१ मा परेका २४ निवेदन बापत दुई लाख ६८ हजार र आव २०८१/८२ मा परेका तीनवटा निवेदन बापत २७ हजार गरी जम्मा दुई लाख १९ हजार पाँचसय रुपैँया वितरण गरेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
सिरानचोक गाउँपालिका अन्तरगत १४ बाख्रा, बोका, खसी र १ भौसी, गोरु, गाई गरी आव २०८०÷८१ मा परेका ९ निवेदनका आधारमा एक लाख २४ हजार र आव २०८१/८२ मा परेको एउटा मात्र निवेदनका आधारमा १० हजार गरी जम्मा एक लाख ३४ हजार रुपैँया वितरण गरिएको कार्यालयको भनाई छ ।
राहत वितरण निर्देशिका अनुसार १४ वटा वन्यजन्तुबाट मानविय र पशुधन क्षति भएमा राहत पाउने व्यवस्था छ । जिल्लाको हकमा भने अधिकांश चितुवाबाटै पशुधन तथा मानविय क्षति हुने गरेको पाइएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।




