
गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिना सम्मानित
आदिवासी जनजाति आयोगले गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनालाई सम्मान गरेको छ । आदिवासी जनजाति आयोगले आफ्नो चौँथो वार्षिक उत्सव समारोहको अवसरमा तिमिल्सिनालाई सम्मान गरेको हो ।
आदिवासी जनजातिले उत्पादन गर्दै आएका कोदोको रक्सीलाई गाउँपालिकाले नै लेबलिङ र ब्रान्डिङ गरी यसको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आयोगले अध्यक्ष तिमिल्सिनालाई प्रशंसा पत्रसहित सम्मान गरेको पालिकाले जनाएको छ । स्थानीय उत्पादनलाई प्रबद्र्धन गरी आयआर्जन बढाउन, स्वरोजगार सिर्जना गर्न पालिकाबाट संस्थागत पहलकदमी लिएको भन्दै सम्मान गरेको आयोगले जनाएको छ ।
‘नेपालको संविधानको मर्म र भावनालाई आत्मसात गरी आदिवासी जनजातिको समुदायको परम्परा, ज्ञान र सीपको संरक्षण, प्रवद्र्धन र जगेर्ना गर्न घरेलु मदिराको ब्रान्डिङ गरी प्रयोगमा ल्याउने काम गरेकाले सम्मान गरिएको’, आयोगका अध्यक्ष रामबहादुर थापाद्वारा हस्ताक्षर गरिएको सम्मान पत्रमा उल्लेख गरिएको छ । सभामुख देवराज घिमिरे र आयोगका अध्यक्ष थापाले संयुक्त रुपमा तिमिल्सिनालाई सम्मान गरेका हुन् ।
गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सिनाले आदिवासी जनजाति समुदायको परम्परागत ज्ञान, सीपलाई संरक्षण गर्न र प्रचार प्रसार गर्न उल्लेख्य भूमिका निर्वाह गरेको आदिवासी जनजाति आयोगले मूल्यांकन गरेको छ । साथै, पालिकाभरका किसानहरुले कोदोको उत्पादन गरी बिक्री वितरण गरे बापत प्रतिकेजी ५ रुपैँयाका दरले अनुदान दिएप्रति पनि आयोगले उच्च मूल्यांकन गरेको छ ।




