
कानून विपरीत खुलेआम जुवा संचालन हुने तातोपानी मेलामा कुटपिटबाट एक घाइते
कानूनको धज्जी उडाउँदै खुलेआम रुपमा जुवा संचालन हुने तातोपानी मेलामा झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा धादिङको गंगाजमुना गाउँपालिका–७ बुढाथुम रातोडाँडाका ४५ बर्षीय चन्द्रबहादुर घले रहेको प्रहरीले जनाएको छ । गत बिहिवार राती मेला हेर्न गएका बेला उनीमाथि चिर्पट प्रहार भएको थियो ।
गोरखाको भीमसेन थापा गाउँपालिका वालुवाटारका सुवास तामाङले चिर्पट प्रहार गरेको भन्दै उनीमाथि कडा कारवाही गर्न पीडित पक्षले माग गरेको छ । कुटपिटमा संलग्न व्यक्ति फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । ‘टाउकोको पछाडि भागमा चिर्पटले हानेको रहेछ,’ उनले भने, ‘घाइतेको अहिले काठमाडौंस्थित हेम्स अस्पतालमा उपचार भइरहेको छ ।’ घाइतेको अवस्था गम्भीर रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
धार्चे गाउँपालिका–३ खोर्लावेशीमा संचालित उक्त मेलामा कानून विपरीत ठुलै रकम हारजीत हुने गरी खुलेआम जुवा संचालन हुने गर्छ । अवैध रुपमा संचालन हुने जुवा नियन्त्रणमा जिल्ला प्रहरी तथा प्रशासन पनि निरिह देखिएको छ । कानून विपरितका कार्यलाई प्रश्रय दिदैं स्थानीय सरकारले मेला संचालनको अनुमति दिने गरेको छ । कानूनले रोक लगाएका गतिविधि समेत संचालन हुने उक्त मेलामा केही स्थानीय तहका जनप्रतिनिधिहरु खुलेआम रुपमा सहभागी भएर तस्विर समेत सार्वजनिक गरिरहेका छन् ।
जनप्रतिनिधिको सहभागीताले अवैध गतिविधि संचालन हुने गरेको मेलालाई वैद्यता दिएको बुझाइ रहने भन्दै आलोचना हुन थालेको छ । मेलाको नाममा संचालन हुदैं आएको जुवा लगायतका गतिविधीलाई नियन्त्रण गर्नुपर्ने सरोकारवालाको सुझाव छ । यसका लागि प्रशासन अग्रसर हुनुपर्ने उनीहरुको भनाइ छ । पाँच दिनसम्म संचालित उक्त मेला शनिवार सम्पन्न भएको छ । खुलेआम जुवा खेलिने मेलाको गण्डकी प्रदेशका सभामुख कृष्ण धितालको उद्घाटन गरेका थिए ।




