
छाकमा पुलले ल्याएको खुशी
गाउँ जोड्ने गरी झोलुङ्गेपुल बन्ने भएपछि हिमाली भेगका बासिन्दा खुशी भएका छन् । चुमनुब्री गाउँपालिका ४ छाक गाउँलाई मनास्लु पदमार्गमा जोड्नेगरी झोलुंगे पुल बन्न लागेपछि गाउँले खुशी भएका हुन् ।
गण्डकी प्रदेश सरकारको तीन करोड २० लाख, ९१ हजार रुपैयाँ लागतमा छाक र गप जोड्ने गरी पुल बन्न लागेको हो । सो पुल बनेपछि छाकका ५० घरधुरी बासिन्दालाई मूलबाटोसम्म झर्न सहज हुने भएको वडाअध्यक्ष पेमा ग्याल्बो लामाले जानकारी दिए ।
‘छाकका ५० घरधुरीका बासिन्दालाई मूलबाटोको गप बजारसम्म झर्न असाध्यै कठिन थियो । बाटोमा ठूलो पहिरो थियो ।
भीरमा झारल हिँडेर ढुंगा खसालिरहने, ढुंगाले लागेर मान्छे मर्ने, घाइते हुने भइरहन्थ्यो’, वडाअध्यक्ष लामाले भने, ‘अब यहाँ पुल बनेपछि गाउँलेले त्यो जोखिमबाट छुटकारा पाउने भएका छन् । अनि क्वाक गाउँका ५० घरधुरीका बासिन्दा पनि मूलबाटोको गप बजार, नाम्रुङ, ल्हो, सामागाउँ, मनास्लु पदमार्गसम्म जान सजिलो हुनेछ ।’ पुल बनिसकेपछि गाउँसंग जोड्ने सुरक्षित पदमार्ग पनि बन्ने उनले बताए ।
यसअघि सो बाटोमा माथिबाट झरेको ढुंगा लागेर चुमनुब्री ३ का एकको मृत्यू भएको थियो । बर्सेनी कैयौँ घाइते भइरहन्छन् । ‘यहाँ पुल बनेपछि गाउँलेले अर्को सुरक्षित बाटो हिँड्न पाउँछन्’, वडाअध्यक्ष लामाले भने, ‘पदमार्ग बनाउन पनि प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बजेट परेको छ । पुल र बाटो बनेपछि गाउँलेलाई अब त्यो जोखिम हुनेछैन ।’
बूढीगण्डकी माथि सो पुल आउँदो चैतसम्म निर्माण गरिसक्ने गरी तीनबर्षअघि बिएलटी मनास्लु जेभी निर्माण कम्पनीले सम्झौता गरेको योजना कार्यान्वयन गर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख गणेश सुवेदीले जनाए । निर्माणको काम करिब अन्तिम चरणमा पुगेकाले निर्धारित समयमा बन्ने आशा उनले व्यक्त गरे ।




