
थाकलडाँडाबाट अवैध काठ बरामद
गोरखा नगरपालिका–८ थाकलडाँडास्थित सामुदायिक वनबाट अवैध काठ बरामद भएको छ । सल्लाको ११ थान र उत्तिसको एक थान गरी जम्मा १२ थान गोलिया काठ बरामद भएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ ।
‘सामुदायिक वनमा अवैध रुपमा सल्लाको काठ फडानी भइरहेको भन्ने सूचनाका आधारमा कार्यालयबाट टोली खटाएका थियौँ’, प्रहरी निरीक्षक धु्रबप्रसाद शर्माले भने, ‘टोलीले सो स्थानबाट ग १ त ४५४४ नंबरको ट्रयाक्टरसहित दुई व्यक्तिलाई समेत पक्राउ गरेको छ ।’
पक्राउ पर्नेमा ट्रयाक्टर चलान गोनपा–९ का २० वर्षीय सुजन सिर्मल र काठ लैजाने गोनपा–८ का ६१ वर्षीय सुकमान सार्की रहेको उनले जानकारी दिए ।
बरामद गरिएको काठहरु नियन्त्रणमा लिएको र पक्राउ परेका व्यकितहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।




