
सेवा बिस्तार गर्दै घ्याल्चोकको कृषि विज्ञान केन्द्र
गण्डकी गाउँपालिका–७ घ्याल्चोकमा संचालित कृषि बिज्ञान केन्द्रको सेवा विस्तारसँगै थप व्यवस्थित हुने भएको छ । २०७६ सालमा स्थापना भएको उक्त केन्द्रको सेवा विस्तारका लागि नयाँ भवन समेत बनाइएको छ । करिव ८८ लाखमा आठ कोठे भवन निर्माण गरिएको हो । अबदेखि केन्द्रमा ल्याब संचालनसमेत हुने भएको छ ।
ल्याव संचालनका लागि गाउँपालिकाले आवश्यक उपकरण सहयोग गरेको छ । ‘ल्यावका लागि आवश्यक उपकरण हामीले दियौ,’ पालिकाका कृषि अधिकृत सपना थारुले भनिन्, ‘अव उहाँहरुले ल्याव पनि संचालन गर्नुहुन्छ ।’ कृषि तथा वन बिज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालय अन्तरगत घ्याल्चोकमा कृषि बिज्ञान केन्द्र स्थापना भएको हो । बिशेष गरी कृषि अनुसन्धान तथा प्रसारका लागि केन्द्र स्थापना भएको केन्द्रका प्रमुख मदन सुवेदीले बताए ।
‘अनुसन्धान केन्द्रको मोडालिटीको रुपमा यहाँ केन्द्र स्थापना गरिएको हो,’ उनले भने, ‘कृषि अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई विश्वविद्यालयमा भएका रिसर्चहरुको परीक्षण गर्ने र केही नयाँ अनुसन्धान गर्ने ठाउँको रुपमा यसलाई स्थापित गर्न खोजिएको हो ।’ केही नयाँ प्रविधिहरुको बिकास भएमा कृषकमार्फत प्रचार प्रसार गर्न पनि केन्द्रले सहयोग पु¥याउने उनले जानकारी दिए ।
जैविक नियन्त्रण प्रयोगशालाको रुपमा यसलाई स्थापित गराउने योजना रहेको उनको भनाइ छ । ‘गण्डकी गाउँपालिकामा बिषादीको अत्याधिक प्रयोग हुने गरेको पाइएपछि यसलाई दिर्घकालिन रुपमा नियन्त्रण गर्न जैविक मलको प्रयोगमा जोड दिन पनि यस केन्द्रले अब सहयोग गर्छ,’ उनले भने ।
यो केन्द्र ‘रिसर्च स्टेशन’ समेत रहेकाले आवासिय रुपमा बसेर बिद्यार्थीहरुले अनुसन्धान गर्न सक्ने बताइएको छ । केन्द्रमा किट संग्रहालय पनि रहेको छ । केन्द्रमा रहेको ल्यावबाट माटोको नमूना परीक्षण र प्लान्ट क्लिनिक संचालन गर्ने तयारी समेत भइरहेको सुवेदीले बताए । जनशक्ति अभावका कारण भने केही समस्या भएको उनले जानकारी दिए । ‘अहिले रोगहरुको पहिचान गर्ने जनशक्तिको अभाव छ, बिज्ञहरुसँग समन्वय गरेर हामीले जसोतसो काम गरिरहेका छौ,’ उनले भने ।
पहिले सात जना कर्मचारी भएपनि हाल तीन जना मात्र रहेको उनले जानकारी गराए । नवनिर्मित भवनमा केन्द्रको कार्यालय संचालन गरिने बताइएको छ । केन्द्रको यसअघिको भवनमा ल्याव संचालन हुने बताइएको छ । करिव सात रोपनी क्षेत्रफलमा केन्द्र स्थापना गरिएको छ । भवन निर्माणका लागि स्थानीयले निशुल्क जग्गा दान समेत गरेका छन् । नयाँ भवनले केन्द्रको सेवालाई थप बिस्तार गरी व्यवस्थित बनाउँदै लैजान सहज हुने सुवेदीले बताए ।




