
पालुङ्टार र बारपाक सुलिकोटको संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा खै ?
जिल्लाका दुई स्थानीय तह पालुङटार नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्यांकन नतिजा अझै सार्वजनिक भएको छैन । जिल्लाका अन्य स्थानीय तहको नतिजा सार्वजनिक भएपनि यी दुई पालिकाको भने अझै नतिजा बाहिरिएको छैन ।
गोरखा नगरपालिका, धार्चे, शहिदलखन, अजिरकोट र आरुघाट गाउँपालिकाको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ । बाँकीको केही दिनअघि सार्वजनिक भएपनि पालुङटार र बारपाक सुलिकोटको नतिजा देखिएको छैन । पालिकाको तर्फबाट सबै काम सकेर जिल्ला समन्वय समितिमा पठाइसकिएको बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आले मगरले बताए ।
‘हामीले हाम्रो काम सबै सकेर पठाइसकेका छौ,’ उनले भने, ‘अव छिट्टै नतिजा सार्वजनिक होला ।’ पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमानसिं थापा मगरले पालिकाले आवश्यक विवरण वुधवार जिससमा पठाएको जानकारी गराए ।
केही दिनअघि मात्र सार्वजनिक भएको चार वटा पालिकाको नतिजा अनुसार भीमसेन थापा गाउँपालिकाले ९३ प्रतिशत अंक प्राप्त गरेको छ ।
उक्त पालिकाले सहकार्य र समन्वयतर्फ १०० प्रतिशत, भौतिक पूर्वाधारतर्फ ७८.८५ प्रतिशत र वित्तिय एवं आर्थिक व्यवस्थापनतर्फ ९३.१८ प्रतिशत अंक प्राप्त गरेको छ । गण्डकी गाउँपालिकाले समग्रमा ९१.५ प्रतिशत अंक प्राप्त गरेको छ । सहकार्य र समन्वयतर्फ १०० प्रतिशत अंक प्राप्त गरेको यस पालिकाले भौतिक पूर्वाधारतर्फ ७६.९२ र वित्तिय एवं आर्थिक व्यवस्थापनतर्फ ९५.४५ प्रतिशत अंक ल्याएको छ ।
चुमनुव्री गाउँपालिकाले ८७.२५ प्रतिशत अंक प्राप्त गरेको छ । यस पालिकाले सहकार्य र समन्वयतर्फ ७९.१७ प्रतिशत, भौतिक पूर्वाधारतर्फ ५० र वित्तिय एवं आर्थिक व्यवस्थापनतर्फ ८६.३६ प्रतिशत अंक ल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।
यता सिरानचोक गाउँपालिकाले पनि समग्रमा ८७.२५ प्रतिशत अंक ल्याएको छ । सहकार्य र समन्वयतर्फ ५० प्रतिशत अंक प्राप्त गरेको यस पालिकाले भौतिक पूर्वाधारतर्फ ८०.७७ र वित्तिय एवं आर्थिक व्यवस्थापनतर्फ ९०.९१ प्रतिशत अंक ल्याएको छ ।




