
हरमटारीचोकको यात्रु बिश्रामस्थलमा चार महिनादेखि प्रहरीको हेल्पडेस्क
यात्रुलाई बस कुर्न तथा स्थानीय जेष्ठ नागरिकलाई बिश्राम गर्न सहज होस् भन्ने हेतुले हरमटारी चोकमा निर्माण गरिएको बिश्रामस्थलमा बिगत चार महिनादेखि प्रहरीले हेल्पडेस्क सञ्चालन गरिरहेको छ । दशैंतिहारको भीडभाडमा सुरक्षा व्यवस्था सुदृढ गर्न गत असोजमा स्थापना भएको हेल्पडेस्क चार महिना बितिसक्दा पनि नहटाउँदा स्थानीयस्तरमा गुनासो बढ्न थालेको छ ।
लायन्स क्लव र स्थानीय टोल विकास संस्थाले जुन उद्देश्यले विश्रामस्थल निर्माण गरेको हो, त्यही प्रयोजनका लागि प्रयोग गर्न पाउनु पर्ने स्थानीयबासीको भनाइ छ । ‘हामीले त यात्रुहरुलाई बस पर्खन सजिलो होस् अनि ज्येष्ठ नागरिकहरु बस्न, गफगाफ गर्न सजिलो होस् भन्ने उद्देश्यले बिश्रामस्थल बनाएको हो ।
गाउँठाउँबाट आएका यात्रुहरु बस्ने, गाडी कुर्ने, चड्ने, ओर्लने गर्थे,’ उनले भने, ‘स्थानीयबासीसंग समन्वय गरी चाडबाडका बेला प्रहरीले नागरिक सहायता कक्ष सञ्चालन गर्ने गरेको थियो । निश्चित समयपछि छोड्ने गरेको थियो, तर यसपालि प्रहरी बसेको बसै ग¥यो । प्रहरी नै बसिराख्ने हो भनी त त्यसको औचित्य नै भएन नि ।’
सो स्थलमा प्रहरीको हेल्पडेस्क सञ्चालन भएपछि बसको प्रतिक्षा गर्ने यात्रु जान डराउने गरेका अर्का स्थानीय भरत कुमार श्रेष्ठले बताए । ‘दशैं–तिहारमा यात्रुलाई पनि सहज हुन्छ भनेर प्रहरीलाई हेल्पडेस्क राख्न दिने चलन थियो । तर अहिलेसम्म पनि प्रहरी बसिरहेका छन्’, उनले भने, ‘सर्वसाधारण यात्रु बसबाट ओर्लिएर बसुन्, गाडी कुरुन् भन्ने उदेश्यले बस्ने स्थल निर्माण गरिएको श्रेष्ठले जानकारी दिए ।
लामो समयसम्म प्रहरीले हेल्पडेक्स प्रयोग गरिराख्दा यात्रुलाई असजिलो भएपनि यसबारे प्रहरीमा कुनै कुरा नराखिएको स्थानीय कालिमाटी टोल बिकास संस्थाका अध्यक्ष माधव थापाले बताए । त्यहाँ प्रहरी बसिराख्दा यात्रुलाई गएर बस्न पनि असहज महशुस हुने गरेको उनले बताए । ‘त्यो यात्रु बस्ने ठाउँ हो, तर त्यहाँ प्रहरी बसिराख्दा यात्रु गएर बस्दैनन्,’ अध्यक्ष थापा भन्छन्, ‘कोही त बसिरहेका छ भने पनि प्रहरी आए पछि उठेर जान्छन् । प्रहरी नभएको बेला सर्वसाधारण बस्छन्, प्रहरी बसेका बेला सर्वसाधारण बस्दैनन् ।’ रात्री बस कुर्नेहरु भने त्यहाँ बस्ने गरेको उनले बताए ।
यता गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले भने केही स्थानीयहरुबाट गुनासो सुन्नमा आएता पनि आफुहरुले यस विषयलाई गहन अध्यायन नगरेको बताएका छन् । उनले यस विषयमा प्रहरी प्रशासनसँग छलफल गर्न पहल गर्ने बताए ।
प्रहरीले भने आफूहरुमा स्थानीयबासीको कुनै गुनासो नआएको बताएको छ । कुनै गुनासो आए भोलिपल्टै त्यहाँको हेल्पडेस्क हटाउन तयार रहेको प्रहरी प्रमुख एसपी बासुदेव पाठकले बताए ।
लायन्स क्लव अफ गोरखाले दुई वर्षअघि गोरखा नगरपालिकाको सहयोग र कालिमाटी टोल बिकास संस्थासंग समन्वय गरी त्यहाँ बिश्रामस्थल निर्माण गरेको थियो ।




