
राम्रो काम गरेबापत नै सरकारबाट बाहिरिन पुगेँ : प्रचण्ड
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गरेकै कारण आफू सरकारबाट बाहिरिन पुगेको तर्क गरेका छन् । गोरखा नगरपालिका–८ आहालेस्थित सरस्वती माविको स्वर्ण जयन्तीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘गोर्खाली जनताको जनप्रतिनिधिको हैसियतले मैले गर्न सक्ने राम्रा कामहरु गर्ने जमर्को गरेको थिएँ तर त्यो कुरा बिचौलिया, दलालहरुलाई सह्य भएन त्यसैले म सरकारबाट बाहिरिन पुगेँ’, उनले भने । उनले आपूm सत्तामा रहँदै शिक्षा विधेयक निर्माण गर्न पहल सुरु गरेको बताएका छन् । उनी भन्छन्, ‘हाल सदनमा शिक्षा विधेयक सम्बन्धी छलफल भइरहेको छ, नयाँ विधेयक शिक्षक कर्मचारीहरुको हितमा हुनेगरी सम्झौँता गरिएको छ ।’
त्यस्तै उनले आफू विपक्षी दलको नेताको हैसियतले सदन र सडकबाट राष्ट्रिय रुपमा शिक्षण क्षेत्रमा देखिएका वेथिति र विसङ्गति विरुद्ध लड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नीजिकरण र माफियाकरणमार्फत शिक्षा क्षेत्रलाई व्यापार बनाउने क्रम नरोकिएको भन्दै उनले यसको विरुद्ध काम गर्ने बताएका छन् । देशलाई बिकास र समृद्धिको बाटोमा पु¥याउने एउटै आधार शिक्षा भएकाले शिक्षा क्षेत्रमा लगानी बढाउन जरुरी रहेको उनको भनाइ छ ।
कार्यक्रमको अवसरमा उनले स्वर्ण मञ्च र स्वर्णस्तम्भ अनावरण गरेका छन् भने गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले विद्यालयको स्वर्ण स्मारिका अनावरण गरेका छन् । पाँच दिनसम्म चल्ने कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम, दाता सम्मान कार्यक्रम, विद्यार्थी पुनर्मिलन कार्यक्रम लगायत विविध कार्यक्रमहरुको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरदबाबु कट्टेलको अध्यक्षता एवं पूर्व प्रधानमन्त्री दाहालको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, प्रदेशसभा सदस्य सुशीला सिंखडा, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण राना, भरतपुर महानगरकी नगरप्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, शिक्षा बिकास तथा समन्वय इकाई गोरखाका प्रमुख रमेश मैनाली, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, अभिभावक, विद्यार्थी, स्थानीय लगायतको सहभागिता रहेको थियो ।




