
पालुङ्टारमा ‘मस्र्याङ्दी जलाधार प्राधिकरण आयोजना’ गठन गर्न माग
जलविद्युतका लागि महत्वपूर्ण मस्र्याङ्दी कोरीडोरका स्थानीय तहहरुको ७ औँ बैठक गोरखाको पालुङटार नगरपालिकामा सम्पन्न भएको छ । आईतबार गण्डकी प्रदेशको आयोजनामा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको रोहोबरमा उक्त बैठक सम्पन्न भएको हो ।
बैठकले ‘मस्र्याङ्दी जलाधार प्राधिकरण आयोजना’ गठन गर्न माग गर्ने निर्णय गरेको छ । ‘कोरिडोरको काम अघि बढाउन हामी सम्बन्धित पालिकाहरुले आआफ्नो क्षेत्रबाट काम गरिरहेका छौँ नै तर यसलाई सरकारले अपनत्व लिएर प्राधिकरण आयोजनाका रुपमा बिकास गर्नुपर्ने माग हाम्रो छ’, कोरिडोरको स्थानीय तहहरुका समन्वय समिति संयोजक एवं तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले भने, ‘बैठकमार्फत कोरिडोरलाई प्राधिकरण आयोजनाका रुपमा बिकास गर्नका लागि संघीय सरकारसँग पहल गर्न मुख्यमन्त्रीलाई अनुरोध गरिएको छ ।’ सरकारले अपनत्व लिए कोरिडोरको काम छिटो अघि बढ्ने अपेक्षा उनले व्यक्त गरेका छन् ।
यस्तै, कार्यक्रममा मस्र्याङ्दी कोरीडोरको भावी योजनाहरुका बारेमा समेत छलफल गरिएको पालुङटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमानसिंङ थापामगरले बताए । प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले कोरिडोर अन्तरगतका पालिकाहरुमा बिकासको सम्भावना सम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गरेका उनले जानकारी दिए ।
मस्र्याङ्दी कोरिडोर अन्तरगत गोरखाको सहिदलखन गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका सहित गण्डकी प्रदेशका १४ पालिकाहरु पर्दछन् । आईतबारको ७ औँ बैठकले गोरखाका थप ३ पालिकाहरु अजिरकोट, बारपाकसुलिकोट र सिरनचोक गाउँपालिका र लम्जुङको दुधपोखरी गाउँपालिकालाई थप गर्ने निर्णय गरेको छ । कोरिडोर अन्तरगत पर्ने पालिकाहरुमा पर्यटन, कृषि र जलाधार बिकासको प्रचुर सम्भावना भएकाले पनि यो निकै महत्वपूर्ण भएको बताइएको छ ।
कोरिडोर समन्वय समितिका संयोजक आनन्दराज त्रिपाठीको अध्यक्षता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा (माओवादी केन्द्र)का संसदिय दलका नेता हरिबहादुर चुमान, गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटा लगायत मस्र्याङ्दी कोरिडोर अन्तरगतका सबै पालिकाहरुको प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुले सहभागिता जनाएका थिए ।




