
सिरानचोकको चिप्लेटीमा बिस्तारित सेवा केन्द्र संचालन हुने
सिरानचोक गाउँपालिका–८ चिप्लेटीस्थित जनज्योति माविमा वडाले विस्तारित सेवा केन्द्र संचालन गर्ने भएको छ । जौवारीमा रहेको वडा कार्यालय आउन टाढा पर्ने माथिल्लो भेगका वडावासीलाई लक्षित गरी केन्द्र संचालन गर्न लागिएको हो । माघ २ गतेबाट केन्द्र संचालनमा आउने वडाध्यक्ष दलमान गुरुङले बताए ।
‘भौगोलिक कठिनाईका कारण माथिल्लो भेगका वडावासीलाई जौबारीस्थित वडा कार्यालय आउन तीन देखि चार घण्टा हिँड्नुपर्छ,’ उनले भने, ‘धेरै नै गुनासो आउन थालेपछि उहाहरुलाई पायक पर्ने गरी चिप्लेटीमा सेवा केन्द्र संचालन गर्न लागेका हौ ।’ यसअघि एकजना पशुको कर्मचारीलाई चिप्लेटीमै खटाएर तिरो उठाउने काम भइरहेको थियो । यद्यपी अन्य कामका लागी भने वडामै धाउनुपर्ने बाध्यता वडावासीलाई थियो ।
हाल माथिल्लो भेगका स्थानीयलाई पायक पर्ने गरी महिनाको दुई पटक चिप्लेटीबाटै प्रशासनिक काम गर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष गुरुङले बताए । ‘हरेक १५–१५ दिनको फेरमा वडाबाट प्रवाह हुने सम्पूर्ण सेवासुबिधाहरु चिप्लेटीबाटै हुन्छ, केन्द्र र वडा कार्यालयबाट आलोपालो सेवा प्रवाह गर्छाै,’ उनले भने । सेवा केन्द्रबाट सेवा प्रवाह हुने दिनबारे हरेक पटक सूचना जारी गरिने उनको भनाइ छ ।
बिस्तारित सेवा केन्द्र संचालन भएसँगै चिप्लेटी, बलेखु, फुर्की डाँडा, चैनपूर, कालीमाटि, फिनाम, लाङ्दी, मगर गाउँ, नयाँ गाउँ, धारापानि, दलित बस्ति, गुरुङ गाउँ, झाँक्रे, भण्डारे लगायत क्षेत्रका ६ हजारभन्दा बढी वडावासीलाई सहज हुने बताइएको छ । हालका लागी अस्थायी रुपमा बिस्तारित केन्द्र संचालन गरेपनि छिटै स्थायी भवन समेत निर्माण गरिने वडाअध्यक्ष गुरुङले बताए ।
‘बाक्लो बस्ती रहेको सो क्षेत्रमा एउटा स्थायी भवन त चाहिन्छ नै त्येसैले भवन निर्माण गर्ने प्रक्रियामा छौँ’, उनले भने । भवन निर्माणका लागि आवश्यक जग्गा समेत उपलब्ध भइसकेको उनले बताए । जग्गा पास गरेर छिटै भवन निर्माण प्रक्रिया अघि बढाउने योजना रहेको उनको भनाइ छ । वुधवार एक कार्यक्रमकाबीच बिस्तारित सेवा केन्द्रको उद्घाटन गरिने बताइएको छ ।




