| मङ्लबार, कार्तिक २४, २०८३

गुम्वज टनेलमा काँक्रो खेती

शहिद लखन गाउँपालिका–३ झ्यापीडाँडाकी तुलसा गुरुङले गुम्वज टनेलमा काँक्रो खेती सुरु गरेकी छन् । डेढ बर्ष अघि व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम लिएर उनले खेती सुरु गरेकी हुन् ।

‘पहिले सामान्य आफूलाई खान मात्र काँक्रो लगाउथे,’ उनले भनिन्, ‘तालिम लिएपछि व्यवसायिक रुपमै खेती सुरु गरे ।’ खेतीका लागि उनले गुम्वज टनेल बनाएकी छन् । टनेलभित्र करिव १५ सय वेर्ना रोपिएको छ । भक्तपुरे जातको काँक्रो लगाएको उनले बताइन् ।

टनेलमा खेती सुरु गरेपछि उनको आम्दानी पनि बढेको छ । ‘पहिले खुल्ला ठाउँमा ड्याङ बनाएर काँक्रो लगाउथे, शीतले पनि असर गथ्र्याे फेरी अफ सिजनमा खेती हुदैनथ्यो,’ उनले सुनाइन्, ‘अहिले टनेलमा खेती गरेपछि शीतको समस्या पनि भएन, अफ सिजनमा पनि उत्पादन हुन्छ ।’ अफ सिजनमा भएको उत्पादनले दोव्वर मूल्य पाउने उनले बताइन् ।

गत बर्ष काँक्रो बेचेर उनले ४५ हजार आम्दानी गरेकी थिइन् । तर यो बर्ष उत्पादन राम्रो भएमा करिव डेढ लाख आम्दानी हुने गुरुङ बताउछिन् । बिउ उत्पादनका लागि उनको आफ्नै नर्सरी छ । त्यही उत्पादित बिउँ रोपेर उनले काँक्रो खेती गर्दै आएकी छन् ।

करिव १२ घरधुरी रहेको उक्त गाउँमा व्यवसायिक रुपमा काँक्रो खेती गर्ने उनी मात्र हुन् । उत्पादित काँक्रो उनले आँवुखैरेनीमा बेच्छिन् । काँक्रो उत्पादन भएपछि गोलभेडा खेती गर्ने उनको योजना छ । यसअघि मकै र कोदो लगाउँदै आएको ठाउँमा उनले व्यवसायिक रुपमा काँक्रो खेती सुरु गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्