
पालुङटारको चालुतर्फको खर्च ३२.९ प्रतिशत, पूँजीगत खर्च भने ९ प्रतिशत मात्र
पालुङटार नगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको प्रगति २५.२२ प्रतिशत रहेको छ । पालिकाको बिहीबार सम्पन्न १६ औँ नगरसभा एवं अर्धवार्षिक समिक्षामा नगरप्रमुख विवश चिन्तनले हालसम्म प्रगति करिव २६ प्रतिशत रहेको बताएका हुन् ।
पूँजीगत खर्चतर्फको प्रगति ९ प्रतिशत र चालुतर्फको ३२.९ प्रतिशत रहेको उनले जानकारी दिए । पालिकाले चालु आर्थिक वर्षको अन्तसम्म ८८ प्रतिशत वित्तिय प्रगति प्राप्त गर्ने अपेक्षा लिएको छ । कृषितर्फ पालिकाले हालसम्म १० वटा वडाहरुमा नमुना माटो परिक्षण कार्यक्रम संचालन गरिसकेको मेयर चिन्तनलेब बताए । वनको बाँदर बनैमा कार्यक्रम अन्तरगत वन क्षेत्र र खाली जमिनमा ११ हजार बढी फलफुलजन्य विरुवा रोपिएको उनले जानकारी दिए ।
कृषक सूचिकरण कार्यक्रम मार्फत हालसम्म २ हजार २५० जना कृषकहरुको सूचिकृत भईसकेको र २८ कृषक समूहहरुलाई अनुदान दिइसकेको पालिकाले जनाएको छ । वडा नं ४ मा पुष्प खेती कार्यक्रम सम्पन्न भइसकेको बताइएको छ । ११ स्थानको कुल २ सय २० रोपनी जमिनमा सिंचाई कुलो निर्माण समेत गरिएको नगर प्रमुख चिन्तनले जानकारी दिए ।
पालिकाको दुध र मासुमा आत्मनिर्भर कार्यक्रम अन्तरगत दैनिक १२ सय लिटर दुध संकलन गरि वितरण भईरहेको पालिकाद्धारा प्रस्तुत विवरणमा उल्लेख छ । यस्तै, पशुमा कृत्रिम गर्भधारण कार्यक्रम, पशुपंक्षीको तथ्याङ्क संकलन, पशु विमा लगायतका कार्यक्रमहरु संचालन भईरकेको पालिकाले जनाएको छ ।
वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित गर्न पालुङटारले वैदेशिक रोजगारीमा रहेकाहरुको तथ्याङ्क समेत संकलन गरेको छ । जसअनुसार पालिकाको ५४३ जना बैदेशिक रोजगारीबाट फर्किएको, १३ हजार ३०१ जना बैदेशिक रोजगारीका रहेको र ५८७ पढाईको शिलशिलामा बिदेशमा रहेको बताइएको छ ।
पालुङटारको पर्यटन बिकासका लागी नगरप्रमुखको संयोजकत्वमा नगर पर्यटन बिकास समिति गठन गरिएको छ । समितिले दिगो पर्यटन बिकासको लागी नीति नियम र योजना निर्माण गरेर कार्यान्वयन गरिरहेको पालिकाको भनाई छ । शिक्षातर्फ पालिकाले विद्यार्थी सङख्याका आधारमा उचित दरबन्दीको व्यवस्था गर्नुका साथै निशुल्क र अनिवार्य माध्यमिक शिक्षाको योजना लागु गरेको नगरसभाको विवरणमा उल्लेख छ ।
पालिकाले केही समयअघि मात्र करिब चार हजार शिक्षक, विद्यार्थी र अभिभावकको प्रत्यक्ष संलग्नतामा प्रथम पालुङटार शैक्षिक मेला सम्पन्न गरेको छ । गत वर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिएको नगरले जनाएको छ । ५० शौयामा स्तरोन्नति भएको आँपपिपल अस्पताल प्रदेश सरकारलाई विधिवत रुपमा हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको पालिकाले जनाएको छ ।
पालिकाभित्र मृत्यु भएकाकरुको शव व्यवस्थापनका लागी निशुल्क शव बाहनको व्यवस्था मिलाएको, जेष्ठ नागरिकहरुको टोलटोलमा निशुल्क स्वास्थ्य परिक्षण गरिएको र हालसम्म ८ वटा वडामा ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सम्पन्न भएको बताइएको छ । पालुङटार बृहत खानेपानी आयोजनाको ७१ प्रतिशत काम सम्पन्न भएको विवरण नगरसभामा प्रस्तुत गरिएको थियो ।
यस्तै, चालु आवको हालसम्ममा ९२ घरपरिवारलाई आधारभूत खानेपानीको व्यवस्था मिलाएको पालिकाद्धारा प्रस्तुत विवरणमा भनिएको छ । तटबन्धन गरि ११ सय ८८ हेक्टर खेतियोग्य जमिन संरक्षण गरेको पालिकाले जनाएको छ । यसैगरी पालिकाले चालु आवको हालसम्म क्षेत्रगत राजश्व संकलनतर्फ ७२ लाख ६५ हजार र वडागत राजश्व संकलनतर्फ पनि ७२ लाख ६५ हजार रकम संकलन गरेको पालिकाद्धारा प्रस्तुत अर्धवार्षिक प्रगति विवरणमा उल्लेख छ ।




